



चितवन – दसैँ नजिकिँदै गर्दा यात्रुको चाप बढिरहेको समयमा नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएपछि हजारौँ यात्रु बिचल्लीमा परेका छन्।
शुक्रबार साँझ चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला नजिकै गएको ठूलो पहिरोले झण्डै डेढ सय मिटर सडक पूरै अवरुद्ध बनाएको हो। शनिबार दिनभर पाँचवटा मेसिन परिचालन गरेर सडक खोल्ने प्रयास गरिए पनि वेलावेला ठूलो ढुंगासहित पहिरो खस्दा काम अघि बढ्न सकेन।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार मानवीय क्षति नभए पनि ६–७ सय गाडी अलपत्र परेका छन्। ती गाडीमा हजारौँ यात्रु सडकमा वा नजिकैका होटलहरूमा रात काट्न बाध्य भएका छन्। अलपत्र यात्रुलाई प्रशासनले खाना–पानी वितरण गरेको छ।
सडक डिभिजनका अनुसार उक्त क्षेत्रमा कमजोर भौगोलिक संरचना र टुक्रा–टुक्रा चट्टानका कारण बारम्बार पहिरो खसिरहेको छ। काम निर्वाध भएमा करिब ८–१० घण्टामा सडक खुल्ने अनुमान गरिएको छ।
वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
सडक अवरुद्ध भएकाले लामो दूरीका यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।
काठमाडौं–तराई आवतजावतका लागि दामन, त्रिभुवन राजपथ वा कुलेखानी हुँदै बीपी राजमार्ग प्रयोग गर्न सकिनेछ।
नारायणघाटबाट पश्चिम जानेले तनहुँको भिमाद हुँदै कालीगण्डकी करिडोर प्रयोग गर्न सक्नेछन्।
ठूला गाडीका लागि भने यी बाटो सहज नभएकाले अतिरिक्त चुनौती छ।
यसैबीच, दसैँ अवधिभर पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडकखण्डको दाउन्ने भागमा १२ चक्केभन्दा ठूलो भारवाहन सञ्चालनमा रोक लगाइएको छ। यात्रुवाहक तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने सञ्चालन हुनेछन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस