
टोकियो/जापान। पूर्वी जापान रेलवे कम्पनी( जेआर इस्ट)ले विदेशी कामदारलाई लक्षित गर्दै नयाँ तालिम कार्यक्रम सुरु गरेको छ। निर्दिष्ट दक्ष कामदार(एसएसडब्लु)प्रणालीअन्तर्गत अब रेलवे मर्मत क्षेत्र पनि समावेश भएपछि कम्पनीले इन्डोनेसिया र भियतनामका २५ जना प्रशिक्षार्थीलाई फुकुसिमाको शिराकावा केन्द्रमा परीक्षण तालिम दिएको हो।
चार हप्ते तालिममा रेलको डब्बा, ट्रयाक र विद्युतीय संयन्त्रका बारेमा सिकाइनेछ। जापानी भाषामा हुने कक्षा सहज बनाउन प्राविधिक शब्दलाई सजिलो भाषामा अनुवाद गरेर बुझाइने कम्पनीको भनाइ छ।
परीक्षा उत्तीर्ण गरेपछि सहभागीहरूलाई जेआर इस्टका साझेदार कम्पनीहरूमा यो गर्मी यामदेखि रोजगारी दिइनेछ। तालिम, यात्रा र बसोबास खर्च कम्पनीले व्यहोर्नेछ।
जेआर इस्टका अनुसार प्रत्येक वर्ष १०० जना प्रशिक्षार्थी तयार पार्ने लक्ष्य लिइएको छ भने १० भन्दा बढी अन्य रेलवे कम्पनीहरूले पनि चासो देखाएका छन्।
सरकारी अनुमानअनुसार सन् २०२८ सम्म रेलवे क्षेत्रमा १८ हजारभन्दा बढी कामदारको अभाव हुने भएकाले उद्योगले ३ हजार ८ सय विदेशी दक्ष कामदार भित्र्याउने तयारी गरिरहेको छ।
रेलको चालकदेखि मर्मतसम्मको क्षेत्रमा अब विदेशी दक्ष जनशक्तिको उपस्थिति देखिनेछ, जसले जापानको रेल सेवामा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस