
काठमाडौँ, १३ जेठ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतका डिप्लोमा, प्रि-डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रमहरूमा अबदेखि प्रवेश परीक्षा (इन्ट्रान्स) बिना नै विद्यार्थी भर्ना गरिने भएको छ। परिषद्ले ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ जारी गर्दै यो नयाँ व्यवस्था ल्याएको हो।
नयाँ प्रणालीअनुसार विद्यार्थीको भर्ना एसईई वा एसएलसीमा प्राप्त ग्रेड प्वाइन्ट एभरेज (GPA) को आधारमा गरिनेछ। सामुदायिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीलाई GPA मा ४ अङ्कको पूर्णाङ्कसहित १ अङ्कको अतिरिक्त भार दिइनेछ भने संस्थागत (निजी) विद्यालयका लागि ०.८५ अङ्कको भार प्रदान गरिनेछ। यसरी प्राप्त योगफलको आधारमा योग्यताको क्रम निर्धारण हुनेछ।
अब विद्यार्थीलाई प्रवेश परीक्षाको झन्झटबाट मुक्ति
परिषद्को २०७ औँ बैठकले वैशाख २६ गते गरेको निर्णयअनुसार परीक्षा नियन्त्रण कार्यालयले यो निर्देशिका जारी गरेको हो। यसअघि विद्यार्थीहरूले प्रवेश परीक्षा दिई त्यसको अंकका आधारमा भर्ना पाइरहेका थिए। तर यो प्रक्रियालाई पेचिलो र विवादास्पद मानिँदै आएको थियो।
स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका महासचिव निर्मला सापकोटाले भने, “नयाँ निर्देशिकाले विद्यार्थीलाई फारम भर्ने, परीक्षा दिने, नतिजा पर्खने जस्ता झन्झटबाट मुक्ति दिनेछ। अब विद्यार्थीले सिधै अनलाइनमार्फत आफूले चाहेको विषय र शिक्षालयमा भर्ना फारम भर्न सक्नेछन्।”
अनलाइन आवेदन प्रणाली र पारदर्शी छनौट
सीटीईभीटीले अब अनलाइनमार्फत आवेदन फारम भर्ने व्यवस्था मिलाएको छ। देशभर फैलिएका ६३ वटा आङ्गिक र ४०० भन्दा बढी निजी तथा सम्बन्धन प्राप्त शिक्षालयहरूले विद्यार्थीको फारम भर्न सहज वातावरण बनाउनेछन्।
हरेक वर्ष करिब २५ हजारभन्दा बढी नयाँ विद्यार्थीले सीटीईभीटी अन्तर्गतका कोर्षहरूमा भर्ना लिने गरेका छन्। अघिल्लो व्यवस्था अनुसार ६ महिनासम्म कार्यालयले प्रवेश परीक्षा सञ्चालन र व्यवस्थापनमा समय खर्चनु पर्ने बाध्यता थियो। अब त्यो समय नियमित शैक्षिक क्यालेन्डर अनुसारको परीक्षापन र नतिजा प्रकाशनमा केन्द्रित हुनेछ।
अन्त्यमा: पारदर्शिता र पहुँच वृद्धि हुने अपेक्षा
नयाँ व्यवस्थाले विद्यार्थी छनौट प्रक्रियामा पारदर्शिता ल्याउने र आर्थिक तथा भौगोलिक पहुँचका हिसाबले समेत विद्यार्थीलाई सहजता दिने अपेक्षा गरिएको छ। साथै, अघिल्लो प्रवेश परीक्षा प्रणालीमा देखिएका भ्रान्तिहरू हट्दै, प्राविधिक शिक्षामा पहुँच बढ्ने विश्वास गरिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस