
भरतपुर, चैत ७ – राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरपालिकाद्वारा आयोजित महिला आत्मानिर्भरता तालिम आज एक विशेष कार्यक्रमका बीच सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन भएको तालिमले महिलाहरूलाई आर्थिक सशक्तीकरण, उद्यमशीलता तथा आत्मनिर्भर बन्ने सीप प्रदान गरेको थियो।
तालिमकी प्रशिक्षक सीता थापा भट्टराईले महिलाहरूलाई आत्मनिर्भर बन्न आत्मविश्वास सबैभन्दा महत्त्वपूर्ण हुने बताइन्। उनले महिलाहरूले घरायसी कामबाट फुर्सद निकालेर आय आर्जनतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै, सानो लगानीबाट पनि उद्यमशीलताको बाटो तय गर्न सकिने बताइन्।
स्वास्थ्यसम्बन्धी सत्रमा वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा प्राचार्य डा. केशव भुर्तेलले खानपान र स्वस्थ जीवनशैलीबारे जानकारी गराउँदै, स्वच्छ खाना, सफा खानेपानी तथा पौष्टिक आहारमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले सहभागीहरूसँग अन्तरक्रिया गर्दै स्वस्थ जीवनशैलीले रोगहरू रोकथाम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य सबिना बिकले महिलाहरूलाई उद्यमशील बनाउनु देशको आर्थिक समृद्धिको लागि अनिवार्य भएको बताइन्। उनले रास्वपा भरतपुर महानगरपालिकाले आयोजना गरेको सीपमूलक तालिमलाई सराहना गर्दै, यस्ता कार्यक्रमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।
त्यस्तै, रास्वपा भरतपुर महानगरपालिकाकी सभापति सीता ज्ञवालीले महिलाहरूले दैनिक जीवनमा स्वस्थ खानपानको महत्व बुझ्नुपर्ने र सिप सिकेर त्यसलाई आम्दानीको माध्यम बनाउनुपर्नेमा जोड दिइन्। उनले नेपालमा पौष्टिक आहार, अर्गानिक खाद्यान्न तथा स्वास्थ्यसंग सम्बन्धित अनुसन्धानलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याइन्।
तालिमकै क्रममा केन्द्रीय शिक्षा विभाग प्रमुख कृष्ण हरि पौडेलले स्वस्थ शरीर नै उद्यमशीलताको आधार भएकाले स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला, महानगरपालिका तथा वार्ड तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भरतपुर महानगरपालिका समितिकी सभापति सीता ज्ञवालीको अध्यक्षता तथा रास्वपा केन्द्रीय सदस्य नेत्री सबिना बिकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस