
महोत्तरी : महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको व्यवस्थापनमा समस्या देखिएको छ । गौशालाको अवलोकन र निरीक्षण उपल्लो तहबाट हुँदै आए पनि समस्या निराकरणमा ठोस पहलकदमी हुन सकेको छैन ।
गत शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गौशालाको स्थलगत अवलोकन गरे । यसअघि तत्कालीन मन्त्री पद्मा अर्यालले पनि अवलोकन गरेकी थिईन् । गौशाला–४ का अजय कुशवाहा भन्छन्, ‘गौशालाको व्यवस्थापनमा कोहीको ध्यान पुगेको छैन ।’
राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको यो संस्थाको मुख्य रेखदेखको जिम्मा जिल्लाका प्रमुख जिल्ला अधिकारीमा निहित छ । गाई गौशालाको निरीक्षणपछि मन्त्री अधिकारीले विधि बनाएर समस्या समाधान गरिने बताए ।
‘मन्त्री, प्रशासनिक प्रमुखलगायतबाट गौशालाको निरीक्षण अनुगमन हुँदै आएको छ’, गौशाला बजारका व्यापारी अजय साह भन्छन्, ‘तर सुधार हुन सकेको छैन ।’
हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । महोत्तरीको गौशालामा गाई गौशालाको बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाईका हाडछाला मात्र देखिन्छन् । कुपोषणले वर्सेनि गाई मर्न थलेका स्थानीयको भनाइ छ । गौशालाका गाईको उचित रेखदेख हुन सकेको छैन । उनीहरु पौष्टिक आहार र उपचारबाट समेत वञ्चित छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस