
माडी : माडी नगरपालिकाको प्रमुख पर्यटकीयस्थलमध्येमा पर्छ, पुष्पमदन वाटिका । माडी नगरपालिका–६ मा पर्ने पुष्पमदन वाटिकामा पछिल्लो समय पूर्वाधार थपिँदै छन् । यहाँ पर्यटकको आकर्षण पनि बढ्दो छ । कल्याणपुर सामुदायिक वनमा पर्ने यस ठाउँमा मदन भण्डारी र जीवराज आश्रितको अस्तु विसर्जन गरिएको स्थानीय बताउँछन् । एमालेका तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको चितवनको दासढुङ्गामा २०५० साल जेठ ३ गते सडक दुर्घटनामा मृत्यु भएको थियो ।
भण्डारी र आश्रितको मृत्यु भएपछि उनीहरुको अस्तु देशभर लैजाने क्रममा माडीको यस ठाउँमा अस्तु विसर्जन गरिएको पुष्पमदन वाटिका व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष श्रीप्रसाद दवाडी बताउँछन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र मदन भण्डारीको सम्झनामा पुष्पमदन वाटिका स्थापना गरिएको उनले बताए ।
एमाले नेता एवं बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामाको पहलमा प्रदेश सरकारबाट एक करोड रूपैयाँको काम भएको उनी बताउँछन् । उनका अनुसार अस्तु विसर्जन गर्ने बेलामा उनी पनि यहाँ पुगेका थिए । पुष्पमदन वाटिकामा पूर्वाधार निर्माण गर्न संघीय सरकार र माडी नगरपालिकाबाट पनि बजेट परेको उनले बताए ।
यहाँ दुईवटा पिकनिक स्पट छ भने स्काई चेयर, नमुना जहाज र बाल उद्यानहरु निर्माण गरिएको छ । पार्क, सिसमहल, स्वीमिङ पुल, शौचालय र बाल उद्यानमा थप संरचना निर्माण गरिँदै छ । ‘माडी आउने पर्यटकहरुमध्ये करिब ६० देखि ७० प्रतिशत पर्यटक यहाँ आउने गर्नुहुन्छ’, उनले भने । वाटिकाको विकास र सौन्दर्यीकरणका लागि गुरूयोजना पनि बनाइएको उनले जानकारी दिए ।
वाटिकाको अवलोकन गर्नका लागि प्रवेश शुल्क २० रूपैयाँ तोकिएको छ । स्काई चेयर चढेको प्रतिपर्यटक १०० र जहाज चढेको प्रतिपर्यटक ५० रूपैयाँको टिकटकको व्यवस्था गरिएको छ । वाटिकाको रेखदेख र संरक्षणका लागि तीन जना कर्मचारी खटाइएको छ । उनीहरुलाई तलबलगायतका सेवासुविधा दिन टिकटको व्यवस्था गरिएको उनी बताउँछन् ।
माडी नगरपालिका–६ का वडा अध्यक्ष दीपेन्द्रराज पौडेलका अनुसार पुष्पमदन वाटिका माडी–६, तमुचोकबाट दक्षिणतर्फ अढाई किलोमिटरको दूरीमा पर्छ । गत वर्ष एक किमी सडकमा कालोपत्रे गरिएको थियो । यसवर्ष बाँकी ठाउँमा कालोपत्र हुँदै गरेको उनले बताए । ‘मदन र जीवराजको अस्तु विसर्जन गरेको ठाउँमा यसवर्ष चौतारा निर्माण हुँदै छ । गत वर्ष छ लाख रूपैयाँमा सिसमहलको ढलान गर्ने काम भएको थियो । यो वर्ष प्रदेशको बजेटमा प्लास्टर गर्ने र रङरोगन गर्न लागिएको छ’, उनले भने ।
पुष्पमदन वाटिका व्यवस्थापन समितिले व्यवस्थापनको काम गर्दै आएको छ । वाटिकाबाट आम्दानी भएको रकम रेखदेख एवं व्यवस्थापनमा खर्च हुने गरेको छ । कल्याणपुर गाविस कायम हुँदा नै भ्यू–टावर निर्माण गरिएको थियो । पछि मर्मत गरेर जीर्णाेद्धार गरिएको हो । बालबालिकाहरु खेल्ने बाल उद्यान, भ्यू–टावरमा चढेर माडीको दृश्यावलोकन गर्न सकिन्छ । वडा नं–६ मै माडी भ्यू सामुदायिक होमस्टे पनि रहेको छ । पर्यटकहरुलाई बस्नका लागि होमस्टेमा सातवटा घरहरु रहेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस