
सिन्धुली: विपी राजमार्ग पुर्वकै लाइफलाइन हो । सिन्धुलीसहित पुर्वी तराईका विभिन्न जिल्लासँग छोटो दुरीमा जोड्ने विपी राजमार्ग गत असोजको बाढीले बगाएपछि निकै जोखिम भएको छ ।
सिन्धुलीको नेपालथोकदेखि काभ्रेको भकुण्डे खण्डको ठाँउठाँउमा विपी राजमार्गको नामोनिशान छैन । बाढीले राजमार्ग बगाएपछि अस्थायी रुपमा रोशी खोलैखोला भएर यातायात सञ्चालन भएका छन् ।
बाढीले राजमार्ग बगाएको पाँच महिना वित्दा समेत पुनर्निर्माणको काम अगाडी बढेको छैन । बर्षायाम नजिकिंदै गर्दा राजमार्ग पुनर्निर्माणको थालनी नभएपछि स्थानिय चिन्तित बनेका छन् ।सिन्धुलीको विकासको मेरुदण्ड बनेको विपी राजमार्ग बाढीले भत्किएसँगै बर्खायाममा सो राजमार्गले जोडेको सिन्धुली काठमाण्डौको सिधा सम्पर्क टुट्ने भएको छ ।
झन्डै २० बर्ष लगाएर जापान सरकारको करिब २६ अर्ब रुपैयाँको अनुदान सहयोगमा निर्माण भएको विपी राजमार्ग बाढी पश्चात करिब १२ किलोमिटर सडक पूर्णरुपमा क्षति भएको छ । बाढीले क्षतविक्षत बनाएपछि यात्रा जोखिमपुर्ण भएको यात्रुहरुको भनाई छ ।
बर्षाअगाडी विपी राजमार्गको निर्माण तत्कालै सुरु नगरिए बर्खा लागेसँगै यो राजमार्ग पूर्णरुपमा बन्द हुने निश्चित छ । जसको मारमा विपी राजमार्ग भएर चल्ने सवारी तथा यात्रु राजमार्गमा खुलेका होटल एवम् समग्र पक्षमा पर्ने छ ।
बाढीले बगाएको राजमार्ग बनाउन करिब १० अर्ब बजेट लाग्ने प्रतिवेदन छ । सरकारले तत्काल पचास करोड रुपैयाँ बजेट उपलब्ध गराएर स्रोत सुनिश्चित गरी राजमार्ग पुनर्निर्माणमा ठेक्का लगाउनुपर्ने सिन्धुली क्षेत्रनम्बर २ का सांसद लेखनाथ दाहाल राजन बताउनु हुन्छ ।
विपी राजमार्ग नेपालमै पहिलो पटक सर्टक्रिट र जियोटेक प्रविधिको प्रयोग गरी बनाइएको निकै सुन्दर राजमार्ग हो । सरकारले यस राजमार्गको निर्माण जतिसक्दो छिटो गर्नुपर्ने स्थानियको माग छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस