
माडी : माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्ज र माडीका विविध विषयमा गरेका गतिविधिहरुको पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको छ ।माडी नगरपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतोले निकुञ्जभित्र बिजुलीको वैकल्पिक भूमिगत केबल बिछ्याउन यसअघि रद्द भएको भनिएको ठेक्काको म्याद थप भई काम अगाडि बढेको बताइन् ।
ठेक्का सम्झौताको म्याद थप भई सोही ठेकेदारबाट निर्माण कार्य अगाडि बढाउन आवश्यक पहल र सहजीकरण गरिएसँगै निर्माणको काम अगाडि बढ्न लागेको भन्दै उनले माडी नगरपालिका र यहाँका दलहरुले राजधानीकेन्द्रित भेटवार्ता, फलोअप र डेलिगेसन गरेको परिणामस्वरुप धेरै उपलब्धिहरु हासिल भएको बताइन् ।
नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय हेटौँडा कार्यालयले जगतपुर–माडी ३३ केभी भूमिगत प्रसारणलाइनको डिजाइनदेखि जडान र सञ्चालनसमेतको काम गर्ने गरी २०८० मङ्सिर २८ गते प्रकाशन गरेको बोलपत्रबाट सो ठेक्का सम्झौता भएको थियो । तर, केबल बिछ्याउने कार्यमा वन तथा वातावरण मन्त्रालयले युनेस्कोको अनुमतिका लागि पत्राचार गरेसँगै विलम्ब भएको थियो । करिब २० करोड रूपैयाँ लागतको सो परियोजना अनिश्चित हुँदै गर्दा माडी क्षेत्रको दीर्घकालीन बिजुली व्यवस्थापनमाथि नै अँध्यारो छाएको थियो । हाल चालू रहेको भूमिगत केबलमा पटकपटक समस्या आउँदा माडी क्षेत्रमा बिजुली अवरूद्ध हुने गरेको छ ।
मेयर महतोले निकुञ्जभित्र सडक स्तरीकरणको प्रक्रियाअन्तर्गत डिपिआरका निम्ति ट्रयाक सर्भेको काम सकिएको बताइन् । अहिले सञ्चालनमा रहेको पुरानो सडकलाई परिमार्जन गरी केही स्थानमा नयाँ ठाउँबाट सडक लैजान अनुमति पाएपछि सर्भे गरिएको उनले बताइन् ।
भरतपुर महानगरपालिकाअन्तर्गत ध्रुवघाट हुँदै रिउ खोला र माडीको दक्षिणपूर्व बगई–प्याउली–कुसुमखोला–बाँदरझुला हुँदै ठोरी जोड्ने गरी हुलाकी सडक निर्माण गर्न वन मन्त्रालयले सहमति दिएपछि अहिले पुनः सर्भे गरेको भन्दै बनकट्टादेखि ध्रुव र बगईदेखि हनुमानझुला हुँदै चौतारासम्म दुवै खण्डमा नयाँ मार्गका निम्ति ट्रयाक सर्भे पूरा भई वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढेको उनले बताइन् ।
मन्त्रिपरिषद् बैठकले २०८१ भदौ २७ गते राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ठोरी–माडी सडकको बगई–प्याउली–कुसुमखोला–बाँदरझुला हुँदै ठोरी जोड्ने गरी हुलाकी सडकखण्डको नयाँ रेखाङ्कन स्वीकृतिको प्रक्रिया अगाडि बढाएको थियो । मन्त्रालयको सहमतिमा आएको टोलीले सर्भेको काम १० दिन लगाएर गरेको हो ।
वन मन्त्रालयले नयाँ सहमति दिँदा नयाँ ट्रयाकले जैविक विविधतामा कम प्रभाव पर्ने उल्लेख गरेको थियो । वन्यजन्तुको आवतजावतका लागि सकेसम्म अन्डरपासको निर्माण गर्नुपर्ने, इआइए कार्यमा निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय समुदायका प्रतिनिधि र वातावरण विज्ञको समेत सहभागिता रहनुपर्ने एवं राजमार्गलार्ई समेत विकल्पका रुपमा अध्ययन गर्नुपर्ने सर्त अगाडि सारेको मेयर महतोले बताइन् ।
निकुञ्जका कारण रेखाङ्कन संशोधन गरेर उक्त सडकलाई पूर्णता दिन लागिएको हो । सुरूको रेखाङ्कन परिवर्तन गरेर निकुञ्जको मध्यवर्ती क्षेत्र भएर जाने बगईदेखि कुसुमखोला हुँदै ठोरीको १६.५ किमी र रिउ खोला (बनकट्टा)देखि ध्रुवघाटको राप्तीमा नयाँ पुल निर्माण गरी जगतपुर जोड्ने गरी ७.३ किमी हुलाकी राजमार्ग निर्माण गरिने भएको छ । त्यस्तै, पूर्वपश्चिम विद्युतीय रेलमार्गले पनि भरतपुरलाई छुने छ ।
पत्रकार सम्मेलनमा माडी नगर उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडक वर्षको दुईपटक मर्मत एवं सो सडकखण्डमा दैनिक पानी हाल्न बजेट व्यवस्थापन गर्न पहल भइरहेको बताए । संघीय अर्थ, भौतिक योजना एवं वनलगायतका मन्त्रालयहरुमा भेटवार्ता तथा छलफल गर्दै सो कार्यको पहल गरिएको र सकारात्मक आश्वासन पाएको भन्दै उपप्रमुख महतोले यसैगरी हाल ठोरी भन्सार बन्द रहेकोमा त्यसलाई खुलाउन अर्थ मन्त्रालयमा पहल गरिएको बताए ।
निकुञ्जभित्र २४सै घन्टा सडक खुलाउन वन राज्यमन्त्री रुपा विक माडी आउँदा र वनमन्त्री ऐनबहादुर शाही जगतपुर आउँदा पहल गरिएको बताउँदै नगर उपप्रमुख महतोले सवारीसाधन र यात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै बनकट्टादेखि ध्रुव पोस्टबीचको एक स्थान र ध्रुवदेखि कसरा पोस्टको बीचमा अर्को एक स्थानमा सुरक्षाका लागि मचान निर्माण हुने बताए । यसबाहेक कसरा–बनकट्टा सडकमा २० मिनेटदेखि ३० मिनेटसम्म व्यावहारिक टाइम कार्ड लागू गर्ने विषयमा छलफल भइरहेको पनि नगर उपप्रमुख महतोको भनाइ थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस