
यस वर्षको माघ महिनामा देवघाटधाममा मेला चलिरहेको छ । सन्दर्भ हो–मातापिता सेवा आश्रम निर्माण तथा देवघाट दिव्यधामको निर्माणार्थ सहयोग संकलनका लागि ईश्वरकृष्णजीद्वारा आयोजित देवघाट महा–महोत्सव । यो महोत्सवको प्रचारप्रसार र तयारी निकै तामझामका साथ गरिएको भएपनि साच्चिकै ठिकसँग यज्ञ हुने वा नहुने भन्ने चर्चा पनि सुनिँदै थियो ।
तनहुँ तर्फका देवघाटवासीहरूले समग्र देवघाटको सहभागिता र सामूहिक उद्देश्यको सुनिश्चितताविना कुनै यौटा संस्थाको आयोजनालाई देवघाट महोत्सव भन्न नपाइने कुरा उठाए । त्यसको सम्बोधन कसरी भयो, हामीलाई थाहा भएन । शिलान्यासको दिन प्रायः सबै सन्तहरूसँगै हाम्रो पनि सहभागिता थियो । महा–महोत्सवको समुद्घाटन सन्तसमाजका अध्यक्ष स्वामी ज्ञानानन्दजीबाटै भएकोले महोत्सवमा सन्तसमाजको साथ समर्थन सार्वजनिक भएको थियो, तर त्यसको भोलिपल्टै चितवनवासी केही उत्साही साथीहरूले विश्व हिन्दु महासंघको नामबाट महोत्सवको विरोधमा पत्रकार सम्मेलन गरे । यस्तो गतिविधिबाट कतिपय श्रद्धालुहरू अन्यौलमा परेको देखियो । यस सम्बन्धमा धेरैले जिज्ञासा राखेको र हाम्रो उपस्थिति नदेखेर महोत्सवसम्बन्धी हाम्रो प्रतिक्रिया जान्न चाहेकोले हाम्रो प्रतिक्रिया यसै आलेखमार्फत प्रकट गरेको छु । यो मेरो निजी विचार र प्रतिक्रिया मात्र हो ।
महोत्सवका राम्रा पक्षहरू–
१. यो महा–महोत्सव हो । शीर्षकमा महायज्ञ भनिएको पनि छैन । यहाँ महायज्ञको परिभाषा खोज्नु जरुरि छैन । महोत्सवको उद्देश्य ठिक छ । समयानुसार मातापिताको सेवा नहुने र अपमानित भएर वा विदेशिएका छोराछोरीलाई सम्झिँदै घरमा एक्लो जीवन बिताउन बाध्य व्यक्तिहरूलाई देवघाटमा आश्रय दिनु राम्रो कुरा हो । उल्लिखित उद्देश्यअनुसार काम पूरा होस्, दानको सदुपयोग होस् र दाताहरूको श्रद्धामा ठेस् नलागोस् भन्ने हाम्रो चाहना हो ।
२. महोत्सव भनेपनि बिचबिचमा श्रीमद्भागवतको कथा भएकै छ । आरती भएकै छ । भजन कीर्तन भएकै छ । अहिले चलिरहेको देवी प्रतिभाको कला र गला ज्यदौ राम्रो छ । मनोमोहक छ । विदेशमा समेत नाम र दाम कमाएकी चेलीले आफ्नै देशमा सम्मान पाउनु खुशीको कुरा हो । महोत्सवमा मनोरञ्जन पनि, धन पनि, धर्म पनि । के नराम्रो भयो र ! जनभावना अनुरूप कार्यक्रमको आयोजना गर्नु राम्रै हो । यसबाट महोत्सवको रमाइलो हेर्न आएकाहरूले पनि भगवत्कथा सुन्न पाए । यो महोत्सवको सुन्दर पक्ष हो ।
३. महोत्सवको नाममा देवघाटधामको प्रचार भयो । देशविदेशबाट हजारौँ होइन, दशौँ हजार होइन लाखौँ मानिस देवघाटमा आए । गण्डकी दर्शन गरे, स्नान गरे, दान गरे, अवश्य पनि पुण्य कमाए । भिक्षुकले भिक्षा पाए । स्थानीयहरूको रोजगारी बन्यो । अरू लाखौँ मानिसले देवघाटको नाम सुने, आउन नपाएकाले आउने इच्छा राखे । मौका मिल्दा आउलान् । दान गर्लान् । योग्यता र क्षमता भए आध्यात्मिक लाभ लेलान् । यस्तो कुराको विरोध गर्नु आफ्नै मानसिक संकीर्णता प्रकट गर्नुमात्र हो ।
सुझाबहरू
१. भगवतकथा भएपछि र दानको कुरा आएपछि श्रद्धालुहरूको मनमा यो यज्ञ हो भन्ने भान हुन्छ । यज्ञमा शास्त्रीय विधिको ख्याल गर्नुपर्छ । भगवतकथामा मण्डप बनाउने तरिका, चौका, महाध्वज, अन्य ध्वजा–पताका, कलश स्थापना, भगवानको स्थापना, पूजाविधि र वक्ताको आसन समेत विधिपूर्वक र पवित्र हुनुपर्छ । अन्यथा नास्ति यज्ञसमो रिपुः भन्ने शास्त्रीय वचनको धारा आकर्षित हुन्छ । वास्तवमा यी सबै क्षेत्रमा नेपालीहरूले चाहिँ छुट्टै मण्डप बनाएर नेपाली परम्परालाई नै पालन गर्नुपर्छ । भारतमा प्रचलित परम्पराको अनुसरण गरेर अग्लो मञ्चभन्दा होचो ठाउँमा वक्ताको आसनभन्दा तल भगवानको स्थापना गर्नु राम्रो होइन । सकेसम्म हाम्रा कामहरू विधि विपरीत नहोऊन् भन्ने कुरामा ख्याल राख्नुपर्छ ।
२. कथावाचन गर्ने ठाउँलाई व्यासासन भनिन्छ । त्यो निकै पवित्र र मर्यादित हुनुपर्छ । त्यहाँ आवागमन गर्ने मानिस, त्यहाँबाट प्रसारण हुने सङ्गीत र अन्य ध्वनितरङ्गको पनि महत्व हुन्छ । बिहान सुप्रभातम्, प्रातःस्मरण वा स्तोत्रहरू सुन्न पाए श्रद्धालु श्रोतालाई राम्रो लाग्छ । बिहानैदेखि लोकगीत वा झ्याउरे लय र उत्तेजक वा उन्मादवद्र्धक सङ्गीत मात्र प्रसारण हुनु सान्दर्भिक होइन । भगवानको पूजा विधिपूर्वक हुनुपर्छ र श्रीमद्भागवतको पारायण पूरा हुनुपर्छ । भागवतकथाको लागि समय पहिल्यै छुट्याउनुपर्छ । कथाको समयमा कथामात्रै हुनुपर्छ । भागवतकथाको बीचमै अचानक कथालाई रोकेर रूपैयाको लेनदेनको कुरा गर्ने, दाता भनेर व्यक्तिको नाम लिने, व्यक्तिलाई सम्मान गर्नेजस्ता कामहरू बेठिक छन् । श्रद्धालुहरूबाट दान लिने वा तालि बजाइमाग्ने मात्र होइन, उनीहरूलाई सत्कर्तव्यको सद्धर्मको भगवद्भक्तिको शिक्षा दिनु पनि हाम्रो कर्तव्य हो भन्ने बिर्सिनुहुन्न ।
३. यस्ता यज्ञमा श्रद्धालुहरूले दान दिएका पनि छन् तर यज्ञहरू द्रव्यमुखी हुँदैगए भन्ने गुनासो पनि सुनिन थालेको छ । कुनै पनि सामाजिक काम गर्न अर्थ (धन) चाहिन्छ, महायज्ञ वा महोत्सवमा पनि चाहिएको वस्तु नै मागिएको हो, तर अर्थ अनर्थको कारण हुन्छ भन्ने पनि बिर्सिनुहुँदैन । त्यसैले यज्ञमा यति करोड उति अरव लगानी हुने भन्दा बाहिर दम्भ देखाएकोजस्तो लाग्छ र समाजका छुद्र दृष्टि भएका व्यक्तिहरूको गिद्धे नजरले सताउने सम्भावना हुन्छ । त्यसैले पनि द्रव्यप्रधान यज्ञ देखिनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।
४. चर्को आवाज आउने माइक भए ठुलो यज्ञ भएको भन्ने भ्रम हामीमा अझै बाकि छ । मानिसको श्रवणशक्तिले थाम्नै नसकिने किसिमको चार तिरबाट ठोक्किएर आएको चर्को अवाजले देवघाटको वातावरण अशान्त बनिरहेको छ । यसरी तीर्थस्थलको शान्त वातावरणलाई अशान्त बनाउनु राम्रो होइन । विशेष गरी कार्यक्रमस्थल नजिकै रहेको विद्यालय, कन्या गुरुकुल र घरमै बसेर अन्लाइन कक्षा लिने विद्यार्थीलाई थामिनसक्नु चर्को आबाजले तनाव सिर्जना गरेको छ । चर्को आबाजकै कारण बिरामी भएर हस्पिटल जानुपरेको र ब्लडप्रेसर मुटुको समस्या भएको घटना पनि यहीँ घटेको छ । यतातिर पनि आयोजकले दृष्टि दिनुपर्ने र अनुशासित ध्वनि हुनुपर्ने देखिन्छ ।
५. तीर्थमा आउने श्रद्धालुहरूले यहाँका तीर्थवासीहरूलाई साक्षात् सन्त महात्माको रूपमा देख्छन् र भगवत्स्वरूप मानेर श्रद्धाका साथ दान गर्छन् । यहाँका आश्रम सञ्चालकहरूले वा महोत्सवका आयोजकहरूले पनि आमन्त्रित यात्रीहरूलाई भगवदंश सम्झिनुपर्छ र श्रद्धाका नजरले हेर्नुपर्छ । धेरै आगन्तुक श्रोताहरूले पानी पनि पिउन नपाएको वा खाने बस्ने सुत्ने र मलविसर्जन गर्ने व्यवस्था नभएको गुनासो गरेको पाइयो । खानको पनि पैसा, पार्किङको पनि पैसा आए गएको पनि पैसा देवघाट त पैसामुखी भएछ भन्ने गुनासो राम्रो लागेन । दान लिइसकेपछि ती दाताहरूको अन्तरात्मालाई तृप्त बनाएर पठाउनुपर्छ । उनीहरूको हृदयको श्रद्धालाई बचाइराख्नुपर्छ । तीर्थमा आउने मानिसले यहीँ पाप पखाल्छन् भनेजस्तै ती यात्रीहरूले फोहोरको उत्सर्जन विसर्जन पनि यहीँ गर्छन् । त्यसैले देवघाटधाममा आएका वा यहाँ बोलाइएका मानिसलाई अनुशासित बनाउने र उनीहरूले छाडेको फोहोरको व्यवस्थापन गर्ने काम पनि आयोजकले नै गर्नुपर्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस