
शीतलहरका कारण चितवन सहित तराईका जिल्लामा चिसो ह्वात्तै बढेको छ । तर चिसोबाट बच्नका लागि चितवनका स्थानीय तहले कुनै तयारी गरेको देखिदैन । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार चिसोबाट हुन सक्ने घट्नालाई न्यूनिकरण गर्न अहिलेसम्म जिल्ला विपत् व्यवस्थापन समितिको बैठक समेत बसेको छैन ।
‘बुधबारदेखि चिसो अत्याधिक बढेको छ । भोली पनि यस्तै भएछ भने पालिका स्तरिय बैठक राख्छौँ,’ प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भने ‘अहिलेसम्म हाम्रो कुनै तयारी छैन ।’ विगतका वर्षमा चितवन जिल्लामा शीतलहर नर्मल अवस्थामा भएकाले तयारी हुन नसकेको उनले बताए ।
अहिले विपत न्यूनिकरणको लागि अधिकार स्थानीय तहलाई दिइएको छ । तर, अधिकार पाएपनि यहाँका स्थानिय तहले कुनै तयारी गरेको देखिदैन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल केही दिनको अवस्थालाई हेरेर थप निर्णय लिने बताउँछिन् । ‘हिजो अस्ती चिसो खासै थिएन । आज बढेको छ । अहिलेसम्म चिसोबाट हुन सक्ने क्षतीको तयारी केही गरेका छैनौँ,’ महानगर प्रमुख दाहालले भनिन् ‘भोली तिर पनि यही अवस्था रहिरहे सल्लाह गरेर अगाडि बढ्छौँ ।’
भरतपुर विमानस्थलका अनुसार भरतपुरमा बुधबारको अधिकतम तापक्रम १३ डिग्री सेल्सियस थियो । चितवनमा बुधबार दिनभर शितलहर सहित कुहिरो र हुस्सु लागेको छ । अझ केही दिन तापक्रम घट्ने मौसम विभागको अनुमान छ ।
चिसोबाट सबैभन्दा बढी प्रभावित गरिब, दलित तथा विपन्न समुदाय हुने गर्दछन् । तर, जनप्रनिनिधिले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन समेत अनुरोध गरेका छैन । ‘चिसोबाट बच्नका लागि हामीले त्यही एउटा सूचना निकाल्ने हो । अहिलेसम्म निकालेका छैनौँ’, खैरहनी नगरपालिका प्रमुख शशीकुमार खानियाले भने ‘हामी पर्ख र हेरको अवस्थामा छौँ ।’
चितवन अति विपन्न समुदाय बस्ने जिल्ला समेत हो । यहाँ सिमानतकृत चेपाङ, मुशहर, बोटे लगायतका अति विपन्न समुदाय बसोबास गर्दछन् । राप्ती नगरपालिका प्रमुख शमशेर लामा विगतका वर्षमा चिसोका कारण राप्तीमा कुनै समस्या नदेखिएकाले विपत न्यूनिकरणमा कुनै तयारी नगरिएको बताए । ‘हामीले यो वर्ष शीतलहरको तयारी गरेका छैनौँ’,उनले भने ‘दुई तीन दिन यही अवस्था भए एउटा निर्णय लिन्छौँ।’
गर्भवती, नवजात शिशु र वृद्धवृद्धालाई चिसोले बढी समस्या हुने गर्दछ । उत्ता माडी नगरपालिकाले पनि अहिलेसम्म शीतलहरबाट जोगिनका लागि केही तयारी नगरेको उपप्रमुख खेम महत्तो बताउँछन् । ‘माडीमा चिसो त बढेको छ । चोक चोकमा दाउरा बाल्नु पर्ने हो । अहिलेसम्म केही गरेका छैनौँ’ उनले भने ‘केही दिन यस्तो भयो भने बाध्य भएर पनि गर्नुपर्ने होला ।’ चितवनको रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकाले पनि अहिलेसम्म आवश्यक तयारी गरेका छैनन् । यद्यपि कालिका नगरपालिकाले चिसो बढेपछि पाँच दिन स्कुल बन्द गरेको छ । टोल टोलमा सूचना प्रवाह समेत गरेको नगरप्रमुख विनोद रेग्मीले बताए । ‘घाम लागेपछि खोल्ने गरी पाँच दिन स्कुल बन्द गर्ने निर्णय गरेका छौँ’, नगरप्रमुख रेग्मीले भने ‘टोलटोलमा जाडोबाट जोगिन सूचना प्रवाह भइरहेको छ ।’
शीतलहरका कारण कमजोर मानिसको मृत्यु हुने सम्भावना समेत अधिक हुन्छ । अहिले चिसोका बिरामीहरु अस्पतालमा आउने क्रम बढेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा हिजोआज दैनिक पाँच सयको हाराहारीमा मेडिसियन वार्डमा बिरामी आउने गर्दछन् ।
फिजिसियन डाक्टर प्रमोद पौडेलले भरतपुर अस्पतालमा हिजोआज घाँटी दुख्ने, खोकी लाग्ने ज्वरो र श्वासप्रश्वासका बिरामी बढी आउने गरेको बताए । जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्याँस बालेर नबस्न समेत उनले अनुरोध गरे । ‘चिसोमा दम, मुटु, उच्च प्रेसर र रोगसँग लड्ने क्षमता भएका बिरामीहरु क्यान्सरका बिरामीहरुलाई बढी जोखिम हुन्छ,’ उनले भने ‘यस्ता बिरामीले चिसोमा मनिङवाक गर्नुसमेत हुँदैन ।’ चिसोबाट बच्नका लागि न्यानो हुने लुगा लगाउन, तातो झोल खानेकुरा खान र जाडोमा बाहिर ननिस्कन उनले सुझाव दिएका छन् । मुटुका रोगी र दमका रोगीहरुले दाउरा बालेर धुवाँमा नबसन्न समेत उनले अनुरोध गरे ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस