
माडीकी अनिमाकुमारी महतोले फुपूसँग सिलाइकटाइको आधारभूत तालिम लिएकी थिइन्। तर, उनी यसैलाई पेसा बनाउने विषयमा अलमलिरहेकी थिइन्। यही क्रममा नारायणगढ लायन्स क्लबमार्फत ‘लायन जीतबहादुर पिया व्यावसायिक तालिम केन्द्र’ले तीनमहिने तालिम दिएपछि उनलाई पेसा अँगाल्न थप सहज भयो ।
तीन महिनासम्मको तालिमबाट उनले कुर्तासुरूवाल, पाइन्ट, कमिज, पटियाला सेट, चोलो, चौबन्दी चोलो, ब्लाउज, सादा ब्लाउज, पेटीकोट, बच्चाको कपडाका डिजाइन आदि बनाउन सिकिन् । सामान्यतया आफन्तसँग बसेर मेसिन चलाइरहेको हुँदा प्रशिक्षक भरत परियारले देखाएको बाटो समात्न उनलाई त्यति गाह्रो भएन ।
तालिम केन्द्रले विगत तीन वर्षदेखि माडीका महिलाहरुलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउनका लागि ठाउँ–ठाउँमा तालिम दिँदै आएको छ । तालिममार्फत करिब २७५ जनालाई तालिम दिइसकिएको तालिमका मुख्य प्रशिक्षक परियारले जानकारी दिए । यसबाट आर्थिकरुपमा विपन्न समुदायका महिलाहरुलाई आयस्रोतको सम्भावना राम्रो बन्ने उनले बताए ।
आफैँ व्यवसाय गर्न या जागिर गर्न तालिमले मद्दत पुग्ने हुँदा तीन वर्षदेखि माडीका विभिन्न क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम गर्दै आएको तालिम केन्द्रका संरक्षक शान्तकुमार पिया बताउँछन् । ‘हामीसँग त्यति ठूलो बजेट हुँदैन, तैपनि तालिम केन्द्रको नाममा विभिन्न खालका तालिममार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउने प्रयासमा जुटिरहेका छौँ’, उनले भने ।
कतिपयले तालिमपछि आफूले सिकेको सीपलाई पेसामा परिवर्तन गराइसकेको बताउँदै उनले थपे, ‘सिलाइकटाइको तालिम लिइसकेपछि आफैँले व्यवसाय थाले पनि राम्रो छ । जागिर गर्न चाहनेकाहरुका लागि पनि राम्रो अवसर छ ।’ घरखर्च चलाउनै मुस्किल हुने महिलाहरुलाई आयआर्जनको राम्रो माध्यम बन्ने हुँदा तालिम केन्द्रले तीन वर्षदेखि एउटै क्षेत्रमा तालिम प्रदान गर्दै आएको उनको भनाइ छ ।
तालिम लिइसकेका व्यक्तिलाई व्यवसाय सञ्चालन गर्न या रोजगारका लागि पनि क्लबले नै सहजीकरण गर्दै आएको कार्यक्रमका स्थानीय संयोजक धनबहादुर गुरूङले बताए । ‘तालिमपश्चात् जागिर गर्न चाहनेहरुलाई पनि हामीले समन्वय गरेर काम गरिरहेका छौँ । आफैँ स्वरोजगार बन्न चाहनेहरुका लागि पनि हामीले आवश्यक सहयोग प्रदान गर्दै आएका छौँ’, उनले भने ।
पछिल्लो समय चितवनमा सिलाइकटाइसम्बन्धी दक्ष जनशक्तिका लागि राम्रो अवसर रहेको स्वयं व्यवसायीहरुले बताउँदै आएका छन् । तालिम प्राप्त र काम गर्न जाँगर चलाउनेहरुका लागि देश छोड्न नपर्ने नारायणघाटका व्यवसायी नीरज श्रेष्ठ बताउँछन् । ‘सिलाइकटाइसम्बन्धी तालिम प्राप्त व्यक्तिको माग बजारमा राम्रो छ’, उनी भन्छन्, ‘यसमा आम्दानी पनि राम्रो छ ।’
कतिपय कपडाको डिजाइन महँगो हुने हुँदा सीप भएका व्यक्तिका लागि आम्दानीको राम्रो स्रोत बन्न सक्ने उनले बताए । ‘कतिपय डिजाइन कपडाको मूल्यभन्दा धेरै महँगो हुन्छ’, उनी भन्छन्, ‘त्यसैले सिलाइकटाइ जानेका व्यक्तिले आफ्नै ठाउँमा राम्रो आम्दानी गर्न सक्छन् ।’
माडीमा सञ्चालित तालिम लिएका जोकसैलाई आवश्यक परे रोजगारको ग्यारेन्टी दिन सकिने गरी काम गर्दै आएको उनले बताए । ‘कपडा पसलमा बसेर पनि काम गर्न सकिन्छ, गार्मेन्टहरुमा काम गर्न पनि सकिन्छ’, उनले भने, ‘त्यसकारण सीप सिकिसकेपछि काम गर्न चाहनेहरुले खाली बस्न पर्दैन ।’
केन्द्रले अहिले नवौँ समूहलाई माडी नगरपालिका वडा नं–४ को सितलपुरमा तालिम दिइरहेको छ । तालिम केन्द्रले हरेक शनिबार नारायघाटस्थित नारायणी कला मन्दिर परिसरमा निःशुल्क चित्रकला प्रशिक्षणसमेत दिँदै आएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस