चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच बुधबार भएको झडपमा दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्। झडप जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडि सुरु भएको थियो, जहाँ रास्वपाका सभापति रवि लामिछानेका समर्थकहरूले चर्को नाराबाजी गर्दै कार्यालयभित्र प्रवेश गर्ने प्रयास गरेका थिए।
झडपको क्रममा चोबिसकोठीबाट प्रहरी घेरा तोड्दै समर्थकहरू प्रहरी कार्यालयसम्म पुगेपछि स्थितिले तनावग्रस्त रूप लिएको थियो। प्रदर्शनकारीले ढुंगा प्रहार गरेको दाबी गर्दै चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले संयम अपनाउँदा पनि परिस्थितिले बल प्रयोग गर्न बाध्य बनाएको बताए। उनका अनुसार झडपका क्रममा २० भन्दा बढी प्रहरी घाइते भएका छन्।
दोस्रोतर्फ, रास्वपाका जिल्ला सभापति कृष्ण भुषालसहित १५ भन्दा बढी समर्थक घाइते भएका छन्। भुषालले विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको जानकारी दिएका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। सहारा चितवन सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसँग बयान जारी रहेको बेला यो घटनाले जिल्ला तनावपूर्ण बनेको छ।
बुधबार बिहान ८:३० बजेदेखि जिल्ला सरकारी वकिल कार्यालयमा रवि लामिछानेसँग बयान लिने प्रक्रिया जारी रहेको छ। यो बयानसँगै रास्वपाका कार्यकर्ताको प्रदर्शनले भरतपुरको अस्पतालरोड क्षेत्रमा जनजीवन प्रभावित भएको छ।
सहकारी ठगी प्रकरणमा लामिछानेमाथि भइरहेको छानबिनप्रति असन्तुष्टि जनाउँदै रास्वपाका समर्थकहरूले प्रदर्शन सुरु गरेका थिए। झडपपछि प्रहरीले प्रदर्शनकारीलाई संयमित हुन आह्वान गर्दै परिस्थिति नियन्त्रणमा लिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस