
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र आफूले संविधान संशोधन गरेर जाने विषयमा सहमति गरेको बताएका छन् ।
उनले गत असार १७ गते भएको सात बुँदे सहमतिलाई लक्षित गर्दै सबैसँग सल्लाह र छलफल गरेर मात्रै संविधान संशोधन गरिने पनि बताएका हुन् । कांग्रेसका नेता, समाजवादी चिन्तक प्रदीप गिरिको दोस्रो स्मृतिका अवसरमा नैनसिंह महर अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीले मंगलबार काठमाडौंमा गरेको ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक कार्यक्रममा सभापति देउवाले संविधान संशोधन गर्ने सहमति एमालेसँग भएको र यो लुकाउनु पर्ने विषय नरहेको बताएका हुन् ।
‘संविधानमा केही संशोधन गर्ने कुराहरू ओलीजी र मेराबीचमा सहमति भएको हो,’ सभापति देउवाले भने, ‘केही कुरा आएका छन् । यहाँ लुकाउनु पर्ने कुरै छैन । यो षड्यन्त्र होइन, सबैसँग सल्लाह गरेर गर्ने कुरा हो ।’ सभापति देउवाले राष्ट्रिय सभा अध्यक्ष को बन्ने भन्ने जस्ता विषयमा पनि छलफल आवश्यक रहेको बताएका छन् । ‘यदि सबैमा सहमति हुन्छ भनेदेखि उपराष्ट्रपति नै राष्ट्रिय सभा अध्यक्ष पनि हुने व्यवस्था हुन सक्दछ, जुन भारतलगायत अरू देशमा पनि अभ्यास छ,’ देउवाले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित सबैलाई एकसाथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाए । ‘दुई पार्टी मात्रै होइन, हामीले अरुलाई पनि समेटेका छौं । कांग्रेस र एमालेको सहकार्य अरुको खिलाफमा हुँदै होइन,’ उनले थपे । सो अवसरमा देउवाले संविधान संशोधन सहमतिमै हुने स्पष्ट पारे ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस