
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज (सोमबार) बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू त्यहाँ पुगेर उनीप्रति श्रद्धाञ्जली प्रकट गर्नेछन् ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।
सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने स्व ढुङ्गानाको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपाल सरकारले उनको अन्त्येष्टिका समयमा दिइने सम्मानसम्बन्धी निर्णय आजै बिहान बस्ने मन्त्रिपरिषद्बाट गर्ने तयारी गरेको छ ।
यसैबीच, सभामुख देवराज घिमिरेले पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइ सकेका छन् । । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्नुहुने ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
राजनीति क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान र कानुनका ज्ञाता थिए । विसं २०४८ मा काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख भएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस