भरतपुर । वैदेशिक रोजगारीमा गएका महिला श्रमिकहरु बढी जोखिममा रहेको पौरखी नेपालले जनाएको छ । सोमबार चितवनका सञ्चारकर्मीहरुसँगको अन्तर्क्रियाका क्रममा महिला श्रमिकहरु हरेक कोणबाट जोखिममा रहेको बताएको हो ।
देशमा उचित रोजगारको व्यवस्था नहुँदा महिलाहरुले चाहेर या नचाहेर वैदेशिक रोजगार रोज्नु परेको पौरखी नेपालकी पूर्वअध्यक्ष एवं रणनीतिक सल्लाहकार मञ्जु गुरूङले बताइन् ।
‘त्यतिमात्र होइन महिलाहरु नेपालमा राजनीतिक, आर्थिक, सामाजिक, लैङ्गिक तथा वर्गीय हिसाबले पनि सुरक्षित छैनन्’, उनले भनिन्, ‘जसकारण वैदेशिक रोजगारीको बाटो अपनाउँछन् ।’ तर, वैदेशिक रोजगारमा पुगिसकेपछिको जोखिम झन् डरलाग्दो रहेको उनको भनाइ छ । महिला दिदीबहिनी विदेश पुगिसकेपछि पीडा सहेरै भए पनि श्रम गर्न बाध्य रहेका उनले बताइन् । नेपालमै श्रमको उचित मूल्याङ्कन र सम्मान गर्ने वातावरण सिर्जना भए कसैले पनि विदेशको बाटो रोज्न नपर्ने उनले बताइन् ।
‘कमाउन भनेर विदेश गइसकेपछि समस्यामा परियो भनेर तत्काल फर्किन सकिने अवस्था पनि रहँदैन । फर्किइहाले पनि समाजमा स्थापित हुन सजिलो छैन’, उनले भनिन्, । विदेश जानुपूर्व पूर्वप्रस्थान अभिमुखीकरको व्यवस्था भए पनि ५० रूपैयाँमा ‘सर्टिफिकेट’ किनबेचका कारण महिलाहरु तालिमबिनै विदेश पुग्ने गरेका उनले बताइन् ।
उनका अनुसार विदेश जाने महिलाहरुमध्ये करिब ९० प्रतिशत घरेलु श्रमिकको रुपमा पुग्ने गरेका छन् । तर, सरकारसँग श्रम स्वीकृति लिएर गएको मात्रै तथ्याङ्क छ, कति गए या गएनन् भन्ने तथ्याङ्क छैन ।
समग्र वैदेशिक रोजगारमा जाने र विभिन्न खालका समस्यामा परेका श्रमिकहरुको क्षेत्रमा काम गर्दै आएको पौरखी नेपालले त्यस्ता व्यक्तिहरुलाई आवश्यक पर्दा उद्धार गर्ने, स्वदेश फिर्ता गर्ने, पुनस्र्थापना गर्ने, पुनः एकीकरण तथा अनुसन्धान गर्नेजस्ता काम गर्दै आएको छ ।
पौरखी नेपालबाट प्रतिवर्ष ३८० देखि ४०० जनाको उद्धार गर्दै आएको उनको भनाइ छ । घरेलु कामदारको रुपमा पनि सबैभन्दा धेरै सरसफाइ, भान्छा, माली र चालकको रुपमा पुग्ने गरेको भेटिएका पौरखी नेपालको अध्ययनले देखाएको छ ।
‘सरकारसँग ठ्याक्कै तथ्याङ्क त छैन, अनुमान लगाउनेमात्रै हो’, पौरखी नेपालका सदस्य नीलाम्बर बडालले भने, ‘तैपनि पछिल्लो ३० वर्षमा करिब ९७ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् ।’ त्यसभित्र भारतमा बस्ने नेपाली श्रमिक र डिभीमार्फत विदेश जानेको सङ्ख्या नपर्ने उनको भनाइ छ ।
सरकारलाई यी र यस्तै विषयमा खबरदारी गराउनका लागि पनि चितवनका सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया गरिएको पौरखी नेपालकी अध्यक्ष सत्रकुमारी गुरूङले बताइन् । सन् २००३ बाट काम गर्न सुरू गरेको पौरखी नेपालले हाल बागमती प्रदेशको काठमाडौँ र चितवनलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको उनले बताइन् । चितवनमा पनि भरतपुर महानगरपालिका र माडी नगरपालिकालक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
पौरखी नेपाललाई काम गर्नका लागि सेपिङ डेभलपमेन्ट ओरिएन्टेड माइग्रेसन (मेग)ले सहयोग गर्दै आएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस