
गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा लगिँदै छ ।काठमाडौंबाट शुक्रबार पक्राउ गरी पोखरा पुर्याइएका लामिछानेलाई आज कास्की जिल्ला अदालतमा लैजान लागिएको हो । प्रहरीले १० बजेपछि अदालत लैजाने तयारी गरेको छ ।रविविरुद्ध सहकारी ठगी र संगठित अपराधको अनुसन्धान गर्न भन्दै प्रहरीले अदालतको अनुमति लिएर पक्राउ गरेको थियो ।
रविलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् । आज पनि पोखरामा प्रदर्शन गर्ने तयारी छ ।यसैबीच सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ ।
नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाडौँबाट पक्राउ गरेको थियो ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस