
हुम्लामा संक्रमित भएका ५४ वर्षीय गौरासिंह बोहरा उपचारका लागि हाल काठमाडौंमा
हुम्लामा पनि डेंगु देखिएको छ । हुम्लाका ५४ वर्षीय गौरासिंह बोहरामा बिहीबार डेंगु संक्रमण पुष्टि भएको हो । यसअघि हुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण पुष्टि भएको थियो ।
हुम्लामा संक्रमण देखिए पनि संक्रमित बोहरा उपचारका लागि हाल काठमाडौंमै छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बोहरालाई गत १८ असोजमै डेंगु पुष्टि भएको हो । स्वास्थ्य जटिलता देखिएपछि उनी उपचारका लागि काठमाडौं आएका थिए । वीर अस्पतालमा ६ दिनको उपचारपश्चात् उनी डिस्चार्ज भएका छन् । हुम्लामै रहँदा निकै कमजोरी देखिएपछि उपचारका लागि काठमाडौं आएको र डेंगु पुष्टि भएको उनले सुनाए । उनले भने, ‘लगातार बान्ता र कमजोरी हुन थालेपछि उपचारका लागि आएको थिएँ । डाक्टरले अब औषधि खान पर्दैन भनेका छन् । तर, कमजोरी उस्तै छ, निको भएपछि फर्किन्छु ।’
जिल्ला अस्पताल हुम्लाका चिकित्सक डा. रोशन रावतका अनुसार एक महिनाअघि पनि स्थानीय एकजनामा डेंगु पुष्टि भएको थियो । त्यसबाहेक सिमिकोट वरपर ज्वरोसहितका लक्षण लिएर धेरै बिरामी अस्पताल आए पनि डेंगु नै भने पुष्टि नभएको उनको भनाइ छ ।
देशका सबै जिल्लामा डेंगु फैलिए पनि यसपटक अति प्रभावित जिल्ला न्यून छन् । यो तुलनात्मक रूपमा काठमाडौं, कास्की, तनहुँ र पर्वतमा बढी देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंमा प्रभावितको संख्या तीन हजार १०३ पुगेको छ ।
यस्तै, कास्कीमा दुई हजार ८४७, तनहुँमा दुई हजार १०७, पर्वतमा एक हजार ५६२ जना संक्रमित भएका छन् । यसबाहेक, चितवन, ललितपुर, गोर्खा, बाग्लुङ, भक्तपुर र स्याङ्जामा डेंगु संक्रमण बढिरहेको छ । नेपालमा हालसम्म डेंगु संक्रमितको संख्या १९ हजार नाघिसकेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस