
चितवनका स्थानीय तहको आन्तरिक आम्दानी घट्दै गएको छ । यहाँका सात वटा तहले पछिल्लो तीन वर्ष आन्तरिक आम्दानी निरन्तर घट्दै गएको बताएका छन् । जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको स्थानीय तह र सरकारी कार्यालयहरुको आर्थिक वर्ष २०८०÷०८१को वार्षिक प्रगति समिक्षा कार्यक्रममा उनीहरुले कोरोनापछिको आर्थिक मन्दिका कारण स्थानीय तहको आम्दानी पनि घट्दै गएको बताएका हुन् ।
यहाँका सात स्थानीय तहको कुल बजेटको आन्तरिक आम्दानी २९ प्रतिशत मात्र रहेको छ । ८ अर्व ७४ करोड ९२ लाख ४८ हजार कुल बजेट मध्ये २ अर्व ५५ करोड २१ लाख रुपैयाँ मात्र आन्तरिक आम्दानी भएको उनीहरुले बताएका छन् । तर, यहाँका पालिकाको वित्तिय प्रगति औषतमा ७० प्रतिशत भएको देखिन्छ ।
चितवन जिल्लामा पाँच वटा नगरपालिका र एक÷एक वटा महानगरपालिका र गाउँपालिका रहेका छन् । त्यसमध्ये भरतपुर महानगरपालिकाको आन्तरिक आम्दानी सबैभन्दा बढी १ अर्व ३६ करोड ९१ लाख ४८ हजार २९३ रुपैयाँ रहेको छ । भरतपुरको कुल बजेट ३ अर्व ७९ करोड ९३ लाख ६६ हजार रुपैयाँ रहेको थियो । त्यसमध्ये ५० प्रतिशत मात्र वित्तिय प्रगति भएको महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख तथा उपनिर्देशक जगन्नाथ अर्यालले जानाकारी दिए । अन्य पालिकाको आन्तरिक आम्दानी भने न्यून देखिन्छ ।
भरतपुरपछि सबैभन्दा धेरै खैरहनी नगरपालिकाको आन्तरिक आम्दानी १६ करोड १ लाख रुपैयाँ रहेको छ । यस नगरपालिकाको कुल बजेट १ अर्व १५ करोड ९१ रुपैयाँ रहेको छ । बजेटमध्ये वित्तिय प्रगति ८५ प्रतिशत रहेको प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८०मा १७ करोड ३१ लाख र त्योभन्दा अघिल्लो वर्ष २० करोड ७९ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो ।
माडी नगरपालिकाको आन्तरिक आम्दानी १५ करोड ५९ लाख ३८ हजार रुपैयाँ रहेको छ । यसको कुल बजेट ५९ करोड ५ लाख १२ हजार रुपैयाँ थियो । वित्तिय प्रगती भने ७७ दशमलव ७ प्रतिशत देखिन्छ । कालिका नगरपालिकाको आन्तरिक आम्दानी १५ करोड १६ लाख ८२ हजार रुपैयाँ रहेका छ । संघ, प्रदेशको सर्सत र समानिकरण सहित ८६ करोड ३६ लाख २० हजार रुपैयाँ बजेट रहेको कालिकाको वित्तिय प्रगित ७७ प्रतिशत रहेको छ ।
भरतपुर महानगरपालिका पछि जनसंख्या सहरीकरण बढी रहेको रत्नगर नगरपालिकाको आन्तरिक आम्दानी भने न्यून छ । उसको खैरहनी, कालिका र माडि नगरपालिकाभन्दा पनि कम आम्दानी देखिन्छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार रत्ननगरको आन्तरिक आम्दानी १२ करोड ३६ लाखमा सिमित छ । यस कार्यालयले एकीकृत सम्पति कर, भूमी कर, घरबहाल, व्यवसाय जडिबुटी, सवारी साधन, विज्ञापन र मनोरञ्जन क्षेत्रबाट कर संकलन गर्दै आएको छ । रत्ननगरको कुल बजेट १ अर्व २२ करोड ४० लाख २८ हजार मध्ये ७६ प्रतिशत वित्तिय प्रगति भएको छ ।
१ अर्व ४ करोड ७२ लाख ३० हजार रुपैयाँ कुल बजेट रहेको राप्ती नगरपालिकाको आन्तरिक आम्दानी ३ करोड ३२ लाख ५६ हजार रुपैयाँ छ । त्यस्तै चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको आन्तरिक आम्दानी २ करोड ९३ लाख ८८ हजार ६८८ हजार रुपैयाँ रहेको छ । यस गाउँपालिकाको कुल बजेट ६७ करोड ४ लाख १९ हजार रहेको प्रस्तुत गरिएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस