
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् । माओवादी केन्द्र दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार आयोजना गरेको भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्। विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेकोले अब एक्लै चुनाव लड्ने उनको भनाइ छ । अब देशब्यापीरुपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको पनि उनले बताए। त्यसको शुरूवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट उनले जानकारी दिए। आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानकै कारण आफू सरकारबाट हटाइएको पूर्वप्रधानमन्त्रीसमेत रहेको प्रचण्डले आरोप लगाए । जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उनले दाबी गरे । आगामी निर्वाचनमा एक्लै लडेर विजय प्राप्त गर्ने गरी तयारी थालिने उनले जनाए । टानलगायतका कतिपय संस्थामा कांग्रेस एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेकोले देशब्यापीरुपमा माओवादीप्रति आकर्षण देखिएको प्रचण्डको भनाइ छ । जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने गरी अगाडि बढ्ने उनले बताए । उनले यो वर्ष दशैँ–तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए ।
कार्यक्रममा पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पार्टीको सिंगो केन्द्रीय समिति अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द र एकताबद्ध रहेको उल्लेख गरे । आगामी केन्द्रीय समितिको बैठकले संगठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने उनले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस