चितवन। नेकपा (एमाले) चितवनले केन्द्रीय सचिवालयको निर्णयबाट चितवनमा नयाँ जिम्मेवारी पाएका नेताहरुलाई बधाई तथा स्वागत कार्यक्रम गरेको छ । आज बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी केन्द्रले चितवन जिल्लामा विभिन्न जिम्मेवारी तोकेर पठाएका केन्द्रीय कमिटीका नेताहरुलाई बधाई तथा स्वागत गरिएको हो ।
सो कार्यक्रममा बोल्दै पार्टी संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले एमाले पार्टी निर्माणको नयाँ चरणमा रहेको बताएका छन् । पार्टी रि इन्जिनियरिङ् र रि शुद्धिकरणको अभियानमा रहेको उनले बताए । उनले अब कामको मूल्याङ्कनका आधारमा नेताहरुले जिम्मेवारी पाउने बताएका छन् । अब कसैलाई टिकट दिनुपूर्व, नयाँ नियुक्ति गर्नुपूर्व उसको परीक्षा लिइने उनको भनाइ छ ।
सैद्दान्तिक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नयाँ जिम्मेवारी सुम्पने उनको भनाइ छ । मैदानमा पठाएर नेता कार्यकर्ताको परीक्षण गर्ने प्रणाली पार्टीले विकास गरेको उनले बताए । पार्टी सदस्यता विस्तारमा जोड दिन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्न आग्रह गरे ।
यसैगरी पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले संविधान कार्यान्वयनका लागि काँग्रेससँग एमाले मिलेको स्पष्टिकरण दिँदै उनले आगामि चुनावमा भने काँग्रेस नै एमालेको प्रतिस्पर्धि हुने बताएका छन् । ०७९ मा अपेक्षित परिणाम प्राप्न हुन नसकेको बताउँदै उनले ०८४ मा पार्टी एक ढिक्का भएर लाग्न सकेमा पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने उनको भनाइ छ । ०८४ मा पनि सफलता प्राप्त गर्न सकिएन भने त्यो हाम्रै आन्तरिक कारणले गर्दा प्राप्त गर्न नसिकएको हुने उनको भनाइ छ ।
कार्यक्रममा पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, पोलिट ब्युरो सदस्य एवम् निवर्तमान चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङ, पार्टी बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै, पार्टीलाई हरेक टोलटोलमा मजबुत बनाउँदै लगेर आगामि चुनावमा पार्टी प्रथम हुने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
स्वागत कार्यक्रममा बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी स्थायी कमिटी सदस्य राजन भट्टराई, चितवन जिल्लाको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी पोलिटब्युरो सदस्य देवि ज्ञवाली, नेपाल खेलकुद महासंघको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी केन्द्रीय सदस्य जेएन थपलिया, चितवन संघीय निर्वाचन क्षेत्र ३ को इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी केन्द्रीय सदस्य यमबहादुर परियार, केन्द्रीय सदस्यमा नियुक्त भई चितवन संघीय निर्वाचन क्षेत्र नं. २ को इन्चार्जको जिम्मेवारी प्राप्त गरेका संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय भूमि व्यवस्था विभाग सचिवको जिम्मेवारी प्राप्त गरेका विजय सुवेदीलाई बधाई तथा स्वागत गरिएको हो ।
यसैगरी सोही अवसरमा बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाललाई पनि बधाई तथा स्वागत गरिएको छ । यसैगरी प्रदेश कमिटीमा मनोनित भएका चितवनका नेताहरु र राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको दोश्रो अधिवेशनबाट विभिन्न जिम्मेवारी पाएका चितवन भूगोलका नेताहरुलाई समेत बधाई तथा स्वागत गरिएको छ ।
नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रम सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए भने उपाध्यक्ष श्याम कुमार विष्टले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा चितवन भूगोलका केन्द्रीय , प्रदेश र जिल्ला स्तरका नेतासहित जनवर्गीय संगठनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस