भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा कुल पुँजीगत बजेटको ५६ प्रतिशत मात्रै खर्च गर्न सफल भएको छ । दुई दिनसम्म चलेको समीक्षा बैठकमा महानगर प्रमुख रेनु दाहालले गत आवमा पुँजीगततर्फ ५६ प्रतिशत मात्र खर्च भएको जानकारी दिइन् । उनले विकास बजेट सोचे अनुसार खर्च नभएको भन्दै आगामी दिनमा समस्यालाई समाधान गर्दै विकास खर्च वृद्धि गर्नुपर्ने बताइन् । उनका अनुसार चालुतर्फ ८६ प्रतिशत खर्च भएको छ ।
प्रमुख दाहालले गत आवको बजेट समीक्षाबाट आएका सुझावलाई बजेट कार्यान्वयनमा देखिएका चुनौती र समस्याको निवारणका लागि सूक्ष्म रूपले खोजी गरी चालु आर्थिक कार्यक्रमलाई अगाडि बढाउन कर्मचारीलाई निर्देशनसमेत दिइन् । प्रमुख दाहालले जिम्मेवार भई सेवा प्रवाह र सुशासन कायम गर्दै दैनिक परिणाम देखिने गरी काम अगाडि बढाउन आग्रह गरिन् । उनले भरतपुरको सहरी पूर्वाधारमा उल्लेखनीय विकास भए पनि अन्य क्षेत्रमा उकृष्ट नतिजा हासिल गर्न नसकिएको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रगति समीक्षामा देखिएका केही सामाजिक विषयलाई समाधान गर्न मिहिन ढङ्गबाट अगाडि बढाउनुपर्ने औँल्याए।समीक्षा मा गत आवमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, समस्या र चुनौतीको समीक्षा गरी चालु आवमा थप प्रभावकारी ढङ्गबाट बढ्ने नीति लिइएको छ । समीक्षा कार्यक्रममा २९ वडाका सचिवले गत आवमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुति राखेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस