नारायणगढ (चितवन), साउन ८-यहाँका दूध उत्पादक किसानहरुले दूध उत्पादन वृद्घि गर्न छाडेका छन् । विगत छ महिनादेखि दूधको भुक्तानी नपाएका किसान उत्पादन वृद्धि हुने समयमासमेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् ।चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानले दूध उत्पादन वृद्धि हुने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन । बगालेले भन्नुभयो, “अहिले दूध उत्पादन गर्ने किसानले दोब्बर उत्पादन गर्न सक्छन्, तर बजारीकरणमा समस्या हुँदा उत्पादन वृद्धिमा चासो नदिएका हुन ।” बजारीकरणमा समस्या हुने डर र बिक्री भएको दूधको रकम लामो समयसम्म भुक्तानी नहुँदा यहाँका किसान पलायन हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।सरोकारवाला निकायले किसानका कुरामा ध्यान नदिँदा दुग्ध उत्पादक किसान मारमा परेको नेपाल किसान महासङ्घका जिल्ला सचिव इन्द्रमणि गैरेले बताउनुभयो । बाहिरबाट अनाधिकृत रुपमा आयात हुने दूधका कारण यहाँ दूध उत्पादन वृद्धि हुन नसकेको हो । उहाँले भन्नुभयो, “अहिले दूध उत्पादन वृद्धि हुने समय हो, तर सोचे जस्तो उत्पादन हुनसकेको छैन किसान दूध उत्पादन वृद्धि गर्न डराउँछन् ।”
अध्यक्ष बगालेका अनुसार निजी क्षेत्र र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डिडिसी०सँग गरी रु ७२ करोड दूधको भुक्तानी लिन बाँकी छ । “भुक्तानीका लागि पटक–पटक धाउनपर्छ, थोरै–थोरै गरेर भुक्तानी आउँछ”, बगालेले भन्नुभयो, “हालको भन्दा बढी दूध उठाउने पक्षमा कोही छैनन् ।” उहाँले चितवनबाट दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने र जसमध्ये जिल्लामै एक लाख ५० हजार लिटर खपत हुने जानकारी दिनुभयो ।
जिल्लामा साउन महिनामा गत वर्ष जस्तो दूधको माग नभएको बगालेले बताउनुभयो । अहिले जिल्लामा ४० हजार बढी दूध उत्पादक किसान छन् । रासस
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस