
विगतमा जेठदेखि कात्तिकसम्म बर्खा मौसममा मात्र डेंगु संक्रमण फैलिने गरेकोमा केही वर्षयता बाह्रै महिना नयाँ केस देखिने गरेका छन्, मौसमी समस्या अब सदाबहार बनेको छ ।
नेपालमा सन् २००४ मा पहिलोपटक देखिएको डेंगु मुख्यतः जेठदेखि कात्तिकसम्म संक्रमण फैलिने मौसमी समस्या थियो । तर, केही वर्षयता डेंगुले सदाबहार संक्रमण फैलिने रोगको रूप लिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरूका अनुसार सन् २०१९ यता डेंगु संक्रमण बाह्रै महिना देखिएको छ । तर, महाशाखाले सन् २०२२ अघिको तथ्यांक मासिक रूपमा छुट्याएर राखेको छैन । त्यसयता भने अहिलेसम्म साढे दुई वर्षमा हरेक महिना डेंगु संक्रमणका नयाँ केस देखिएको तथ्यांकले देखाउँछ ।
सन् २०२२ र २०२३ मा बाह्रै महिना डेंगु संक्रमण भएकोमा, सन् २०२४ मा पनि अहिलेसम्मका ६ महिना (जुनसम्म) नै नयाँ केस देखिएका छन् । ‘विगतमा खासगरी मनसुनको समयमा बढी डेंगु संक्रमण देखिन्थ्यो, बेलाबखत त्यसभन्दा अगाडि वा पछाडिका केही महिना पनि नदेखिएको होइन । तर, सन् २०१९ देखि भने बाह्रै महिना संक्रमण देखिँदै आएको छ । अब डेंगु मौसमीबाट पूर्णतया सदाबहार रोगको रूपमा देखिन थालेको छ,’ महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले भने ।
सन् २०२२ र २०२३ मा क्रमशः जनवरीमा ११ र १३३, फेब्रुअरीमा ३ र १३०, मार्चमा १५ र १९५, अप्रिलमा १८ र १५८, मेमा २५ र १६३ तथा जुनमा ९३ र १,०२६ नयाँ केस देखिएको महाशाखाको तथ्यांक छ । त्यस्तै, जुलाईमा ७२० र ६,४५९, अगस्टमा ३,७०८ र १४,५३४, सेप्टेम्बरमा २७,५२९ र १३,९१२, अक्टोबरमा १७,८८९ र १२,६९९, नोभेम्बरमा ४,२९० र २,८०५ तथा डिसेम्बरमा ४८३ र ५७६ नयाँ केस देखिएका थिए । सन् २०२४ मा पनि अहिलेसम्म ६ महिनामै डेंगु संक्रमणका नयाँ बिरामी देखिएका छन् । जनवरीमा २४३, फेब्रुअरीमा १७३, मार्चमा २००, अप्रिलमा २१५, मेमा २५० र जुनमा १८७ केस देखिएका हुन् ।
एडिस एजिप्टाई वा एडिस एल्बोपिक्टस जातको लामखुट्टेले डेंगु संक्रमण गराउँछ । मनसुनी मौसममा सफा पानीमा फुल पारेर फैलिने यो जातको लामखुट्टे बाह्रै महिना सक्रिय मात्रै भएको छैन, चिसो हिमाली क्षेत्रसम्म पनि पुगेको छ । यो कसरी भइरहेको छ ? सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘लामखुट्टे बाँच्न सक्ने र फुल पार्नका लागि अनुकूल वातावरण हुँदै गएपछि अनुवंशिक उत्परिवर्तनहरू पनि हुँदै गएका छन् । यसले विस्तारै हरेक खालको वातावरणमा रहन सक्ने क्षमता वृद्धि गरेको छ ।’ हरेक खालको वातावरणमा रहन सक्ने र मानव शरीरमा हानि गर्न सक्ने भएकाले लामखुट्टे जनस्वास्थ्यको मुख्य चुनौतीका रूपमा देखिन थालेको उनको विश्लेषण छ ।
लामखुट्टेको संख्या वृद्धि हुँदै गएपछि प्राकृतिक वातावरणलाई उसले आफूअनुकूल बनाउने चिकित्सकहरू बताउँछन् । अध्ययनहरूका अनुसार एउटा लामखुट्टेले आफ्नो जीवनकालमा कम्तीमा तीन सय अन्डा पार्छ । यसकारण प्रत्येक वर्ष लामखुट्टेको संख्या बढ्दै गएको छ । उनीहरूले वातावरणलाई आफूअनुकूल बनाउँदै लगेका छन् । क्लाइमेट एनालिटिक्स दक्षिण एसियाका अध्यक्षसमेत रहेका जलवायुविज्ञ मन्जित ढकाल पनि मौसमी रूपमा देखिने डेंगु बाहै्र महिना घातक रूपमा देखिनुमा लामखुट्टेको अनुवंशिक परिवर्तनलाई प्रमुख आधार मान्छन् । लामखुट्टेको संख्या बढ्दै जानु अर्थात् डेंगु संक्रमण वर्षभरि र सबै स्थानमा देखिन थाल्नुलाई उनी जलवायु परिवर्तनको मुख्य कारणसँग पनि जोड्छन् ।
‘लामखुट्टेजस्ता किराहरू फैलिनका लागि तापक्रम निकै महत्वपूर्ण मानिन्छ । तापमानमा आइरहने फेरबदलले उनीहरूलाई बाँच्न सक्ने वा फैलिन सक्ने अवस्था सिर्जना गर्छ । जसका कारण यस्ता रोग फैलिनुमा तापमानको महत्वपूर्ण भूमिका हुन जाने विभिन्न अध्ययनले देखाएका छन्,’ ढकालले भने, ‘मनसुनको अवधि लम्बिनु वा ढिला हुनु, तापमानमा आइरहेको निरन्तर वृद्धि लामखुट्टेका लागि अनुकूल भइरहेको छ र मौसमी रूपमा देखिने डेंगु घातक बन्दै गएको छ ।’
डेंगु विश्वव्यापी समस्या, दक्षिण एसियामा प्रत्येक वर्ष ‘आउट ब्रेक’
नेपालसँगै बंगलादेश, भारत, पाकिस्तानलगायत देशमा प्रत्येक वर्ष डेंगु आउट ब्रेक भइरहेको छ । बंगलादेशमा गत नोभेम्बरमा हालसम्मकै सबैभन्दा ठूलो आउट ब्रेक भएको थियो । डेंगु संक्रमण फैलिएसँगै अस्पतालहरूमा सबै बेड भरिएका थिए भने मृत्युदरसमेत निकै उच्च देखिएको थियो ।
सन् २०२३ मा बंगलादेशमा तीन लाख १६ हजारभन्दा बढीमा संक्रमण फैलिँदा एक हजार ६४३ जनाको मृत्यु भएको थियो । यो वर्ष पनि डेंगु संक्रमण उकालो लागेको सरकारी निकायहरूले जानकारी दिन थालेका छन् । भारतमा समेत डेंगु संक्रमणको दर उच्च भएकाले प्रत्येक वर्ष महामारीको रूप लिइरहेको छ । भारतको राष्ट्रिय सरुवारोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार गत वर्ष त्यहाँ ९४ हजारभन्दा बढीमा संक्रमण देखिएको र ९१ जनाको मृत्यु भएको थियो । त्यस्तै, २०२२ मा दुई लाख ३३ हजारभन्दा बढी संक्रमित भएका थिए भने ३०३ जनाको मृत्यु भएको थियो ।
पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थानको तथ्यांकले समेत पछिल्ला वर्षहरूमा डेंगु संक्रमण बढ्दै गएको देखाउँछ । सन् २०२१ मा ४८ हजारभन्दा बढी प्रभावित भएकामा २०२२ मा ४१ हजार ७४६ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, पछिल्लो वर्ष संक्रमितको संख्या ५० हजार नाघेको थियो ।
श्रीलंकामा समेत पछिल्लो वर्ष संक्रमितको संख्या ६५ हजार नाघेको थियो । श्रीलंकाको डेंगु संक्रमण नियन्त्रण केन्द्रको तथ्यांकअनुसार सन् २०२२ मा समेत ५३ हजारभन्दा बढी जनसंख्यामा डेंगु संक्रमण भएको थियो । पछिल्ला वर्षहरूमा डेंगु संक्रमण दक्षिण एसियालगायत अन्य दक्षिण पूर्वी एसियाली देशहरू, अमेरिका र युरोपमा समेत महामारीको रूप देखिइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
संगठनले पनि यसलाई जलवायु परिवर्तनकै असरको रूपमा व्याख्या गरेको छ । कोभिड संक्रमणसँगै बढ्दै गएको डेंगु अबका वर्षहरूमा अर्को मुख्य घातक संक्रमणको रूपमा देखिन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सचेत गराएको छ । डब्लुएचओको तथ्यांकअनुसार हाल विश्वका ३.५ अर्ब मानिस डेंगुको महामारीको उच्च जोखिममा छन् । जुन कुल जनसंख्याको झन्डै आधा हो । धेरै डेंगु संक्रमित लक्षणविहीन हुन्छन् वा सामान्य लक्षण मात्र देखिन्छ । तर, पछिल्ला वर्ष संक्रमण गम्भीर हुने र मृत्युदरसमेत बढेको पाइन्छ ।
डा. गोकर्ण दाहाल, कीटजन्य रोग नियन्त्रण
शाखा प्रमुख, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
विगतमा खासगरी मनसुनको समयमा बढी डेंगु संक्रमण देखिन्थ्यो, वेलाबखत त्यसभन्दा अगाडि वा पछाडिका केही महिना पनि नदेखिएको होइन । तर, सन् २०१९ देखि भने बाह्रै महिना संक्रमण देखिँदै आएको छ । अब डेंगु मौसमीबाट पूर्णतया सदाबहार रोगको रूपमा देखिन थालेको छ ।
डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ
लामखुट्टे बाँच्न सक्ने र फुल पार्नका लागि अनुकूल वातावरण हुँदै गएपछि अनुवांशिक उत्परिवर्तनहरू पनि हुँदै गएका छन् । यसले बिस्तारै हरेक खालको वातावरणमा रहन सक्ने क्षमता वृद्धि गरेको छ । हरेक खालको वातावरणमा रहन सक्ने र मानव शरीरमा हानि गर्न सक्ने भएकाले लामखुट्टे जनस्वास्थ्यको मुख्य चुनौतीका रूपमा देखिन थालेको छ ।
मन्जित ढकाल, अध्यक्ष, क्लाइमेट एनालिटिक्स दक्षिण एसिया
लामखुट्टेजस्ता किराहरू फैलिनका लागि तापक्रम निकै महत्वपूर्ण मानिन्छ । तापमानमा आइरहने फेरबदलले उनीहरूलाई बाँच्न सक्ने वा फैलिन सक्ने अवस्था सिर्जना गर्छ । मनसुनको अवधि लम्बिनु वा ढिला हुनु, तापमानमा आइरहेको निरन्तर वृद्धि लामखुट्टेका लागि अनुकूल भइरहेको छ र मौसमी रूपमा देखिने डेंगु घातक बन्दै गएको छ ।
जुलाईदेखि अक्टोबरसम्म उत्कर्षमा पुग्छ,सचेत रहन सरकारको अपिल
बर्खायाममा डेंगु संक्रमण धेरै देखिने गरेको छ । पछिल्ला वर्षको तथ्यांक हेर्दा मध्यजुन अर्थात् असार पहिलो सातादेखि अक्टोबरसम्म डेंगु संक्रमण ‘पिक’मा पुग्ने गरेको छ । पछिल्ला दुई वर्षमा सबैभन्दा धेरै संक्रमण अगस्टदेखि अक्टोबरसम्म देखिएको छ । मध्यअसारबाट देशभर वर्षा सुरु भएकाले संक्रमण अझ बढ्न सक्ने भन्दै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले अपिलसमेत जारी गरिसकेको छ ।
२०२३ को जुलाईमा ६ हजार ४५९, अगस्टमा १४ हजार ५३४, सेप्टेम्बरमा १३ हजार ९१२ र अक्टोबरमा १२ हजार ६९९ जनामा डेंगुको संक्रमण देखिएको थियो । त्यस्तै, २०२२ को जुलाईमा ७२० जनामा देखिएको संक्रमण अगस्टमा तीन हजार ७०८ जनामा देखियो । सेप्टेम्बरमा त अहिलेसम्मकै धेरै २७ हजार ५२९ जनामा संक्रमण देखियो । अक्टोबरमा १७ हजार ८८९ मा देखिएको संक्रमण क्रमशः ओरालो लागेको थियो । नेपालमा डेंगुको संक्रमण देखिन थालेको सन् २००४ देखि हो । साढे २० वर्षमा १०८ जनाले संक्रमणबाट ज्यान गुमाए । २०२२ मा ८८ र २०२३ मा २० जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।@Naya Patrika
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस