भरतपुर : चितवनमै विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको ‘क’ वर्गको विद्यालय अङ्कुरम् एकेडेमीमा नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी) कार्यक्रम सुरु भएको छ । बुधबार विद्यालयमा एनसिसीबारे नेपाली सेनाको सबुज गणद्वारा विद्यार्थी र तिनका अभिभावकलाई प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेनाका सहसेनानी अमितराज ठकुरी, जमदार आसन थपलिया, प्रशिक्षकहरू अमित विक, हरिराम थारू र सूर्य राईको समूहद्वारा विद्यार्थीहरूको छनोट प्रक्रिया सम्पन्न गरेको कार्यक्रममा पुरानो मेडिकल कलेज (सिएमएस) का मेडिकल अधिकृतलगायतको मेडिकल टिमले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरी तालिमका लागि योग्य भए/नभएको प्रमाणीकरण गरेका थिए ।
नेपाली सेनाले राष्ट्रिय सेवा दलमार्फत २०२२ सालदेखि विद्यार्थीहरूलाई एनसिसी तालिम दिन सुरु गरेको हो । सभ्य, अुनशासित र असल नागरिक उत्पादन गर्नु एनसीसी तालिमको मुख्य उद्देश्य रहेको सहसेनानी ठकुरीले उनले बताए । सेनाले सिनियर र जुनियर गरी दुईवटा डिभिजन छुट्याएर तालिम दिँदै आएको बताउँदै ठकुरीले तालिममार्फत विद्यार्थीलाई राष्ट्रिय भावनाले ओतप्रोत बनाई राष्ट्र निर्माणमा क्रियाशील बनाउनु तालिमको मुख्य उद्देश्य रहेको बताए । प्रसहप्राचार्य एवम् एनसिसी समन्वय शिक्षक ओमराज मैनालीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्राचार्य सुमन पौडेल र आवासीय निर्देशक नईम चौधरीले शुभकामना मन्तव्य राख्दै विद्यालयमा नेपाली सेनाअन्तर्गतको राष्ट्रिय सेवा दल कार्यक्रम समग्र विद्यालय परिवारको लागि गौरवको विषय भएको बताए ।
विद्यालयमा अध्ययनरत कक्षा ८–१० मा अध्ययनरत १८ जना छात्र र १८ जना छात्रा छनोट गर्नुपर्ने प्रावधानअनुरुप छनोट प्रक्रियामा कडा प्रतिस्पर्धा हुने र असार १४ गतेदेखि प्रशिक्षण सुरु हुने सहप्राचार्य मैनालीले जानकारी दिए । उनले तालिमका क्रममा छनोट भएका विद्यार्थीहरूको छुट्ने पढाइका लागि विद्यालयले अतिरिक्त कक्षाको व्यवस्था गरिने पनि बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस