
नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष अर्जुन रसाईलीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् ।
प्रतिनिधि छनोट विवादका कारण स्थगित भएको महासंघको महाधिवेशन आयोजना गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले फुकुवा गरेसंगै सुनचाँदी वृत्तमा चुनावी सरगर्मी तिब्र रुपमा बढेको छ। महासंघको नवौं, दशौं र एघारौं साधारण सभा तथा चौंथो महाधिवेशन असार १४ र १५ गते काठमाडौंमा आयोजना हुँदैछ।
हाल महासंघको कार्यवहाक अध्यक्ष रहेका रसाईली आफ्नो समूह नै घोषणा गरेर निर्वाचनमा होमिएका छन् । अध्यक्षका उम्मेदवार रसाईलीले महासंघको प्रदेश निर्वाचनमा सातै प्रदेशका सभापति आफ्नै समूहबाट निर्वाचित गराएर आफ्नो जित सुनिश्चित समेत गरेका छन्। प्रदेश सभापतिहरू महासंघका पदेन पदाधिकारी रहने विधानमा उल्लेख छ ।
सुनचाँदी व्यवसायीहरुको हकहितका लागि सधैं लडिरहेका रसाईली आम व्यवसायीबीच लोकप्रिय पनि छन् । महासंघको तदर्थ समिति सदस्य हुँदै दुई कार्यकाल उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्ष एवम् कार्यवहाक अध्यक्ष समेत रहेका रसाईली आफू अध्यक्षमा निर्वाचित हुनेमा विश्वस्त छन्। यसअघि महासंघको निर्वाचनमा रसाईलीले सबैभन्दा बढी लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए।
न्याय, समानता, समावेशी र गतिशील महासंघको लागी हाम्रो साझा अभियान भन्ने नारा सहित चुनावी माहोलमा होमिएका रसाईलीले आफ्नो समूहबाट वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य, महासचिवमा किरणभाई बज्रचार्य र कोषाध्यक्षमा सुदिप श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । उनले महासंघको वर्तमान महासचिव धर्म सुन्दर बज्रचार्य, कोशी प्रदेशका निवर्तमान सभापति रूपदल विश्वकर्मा (राजु धमला) र लुम्बिनी प्रदेशका निवर्तमान सभापति बुद्वि बहादुर विके (दियाली)लाई पनि उपाध्यक्षको उम्मेदवार बनाएका छन् । उनले सचिव पदको उम्मेदवारमा कास्कीका निर्मल दियाली र चितवनका टुलकप्रसाद विश्वकर्मालाई उम्मेदवार बनाएका छन्। उनले सहकोषाध्यक्षमा पद्म सुन्दर शाक्यलाई उम्मेदवार बनाएका छन्। यसरी योग्य व्यक्तिहरुको छनोट नै रसाईलीको जितको बलियो आधार देखिएको छ ।
महासंघको चुनावका लागि उपाध्यक्ष विपिन रामुदामुले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर व्यवसायी भेटघाटमा उत्रिएका छन्। दुवै उम्मेदवारले जिल्ला जिल्लाका व्यवसायीहरुलाई भेटघाट गरि आफू र आफ्नो समूहलाई सहयोग गर्न आह्वान गरिरहेका छन्। दुवै अध्यक्षका उम्मेदवारहरू नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष समेत हुन् ।
यसअघि २०८० चैत २३ र २४ गते तय भएको महासंघको महाधिवेशन प्रतिनिधि छनोट विवादका कारण स्थगित भएको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस