चितवन, भदौ १३-चितवनमा कृषि क्षेत्रको बजेट घटेर आएको छ । कृषि वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले कृषि क्षेत्रको बजेट घटाउँदै लगेको हो । संघ, प्रदेश र स्थानिय तहका कार्यालयबाट सञ्चालित हुने कृषिको बजेट यसपटक घटेर आएको यहाँका कार्यालयले बताएका छन् ।
कृषि ज्ञान केन्द्र चितवनमा मात्रै गत आर्थिक बर्षभन्दा चालु आर्थिक बर्ष २०८०/२०८१मा पाँच करोड ७५ लाख ८७ हजार रुपैयाँ बजेट घटेर आएको छ । बागमती प्रदेशले चितवन र हेटौँडा हेर्दै आएको कार्यालयलाई कृषि कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक बर्ष १३ करोड ९१ लाख ७६ हजार रुपैयाँ प्राप्त भएको छ । अघिल्लो आर्थिक बर्ष २०७९/०८०मा कार्यालयको बजेट १९ करोड ५७ लाख ६३ हजार रुपैयाँ थियो ।
चालु आर्थिक बर्ष ११ करोड ८७ लाख रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन हुने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलक नाथ कंडेलले जानाकारी दिए । यो बजेटबाट यस बर्ष २२ वटा कार्यक्रम सञ्चालन हुनेछन् । कार्यालयले सिँचाइ, उन्नत बीउ, उन्नत प्रविधियुक्त संरचनामा तरकारी खेती, मकै, धान लगायतका क्षेत्रमा प्राथमिकता दिएको छ । साना सिँचाइमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए । उन्नत प्रविधियुक्त संरचनामा तरकारी खेतीका लागि दुई करोड ८० लाख, मकैबाली, व्यवसायीक तरकारी खेती, चैते धान, बीउ पूँजिकोष परिचालनका लागि समान एक/एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस्तै तेलहन बाली प्रबर्धन, प्राङ्गारिक मल वितरणका लागि एक करोड, खाद्यय प्रणाली रुपान्तरण र यान्त्रीकरणमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको कार्यालय प्रमुख कंडेलले जानकारी दिए ।
चितवनका स्थानीय तहले पनि कृषिमा बजेट घटाउँदै लगेका छन् । गत बर्ष तीन करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको माडी नगरपालिकाले यस बर्ष एक करोड बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख किरण उपाध्याले जानकारी दिए । कृषि ज्ञान केन्द्र चितवनमा भएको सार्वजनिकीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । रत्ननगर नगरपालिकाले पनि बजेट घटाउँदै लगेको छ । रत्ननगरका कृषि शाखा प्रमुख प्रविण लामाका अनुसार रत्ननगरमा चालु आर्थिक बर्षमा संघ, प्रदेश, स्थानीय तह र नगर गौरव आयोजना मार्फत तीन करोड २३ लाख रुपैयाँ कृषिमा बजेट विनियोजन भएको छ । संघबाट ६८ लाख, प्रदेशबाट एक करोड पाँच लाख, स्थानीय तहबाट ७९ लाख र नगर गौरव योजनाबाट एक करोड ५० लाख रुपैयाँ विनियोजन भएका छन् । संघ र प्रदेशबाट आएका कार्यक्रमहरु अधिकांश तोकेर आएको उनले बताए । यस बर्ष भरतपुर महानगरपालिकाले कृषिमा ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै कालिका नगरपालिकाले एक करोड ११ लाख, राप्ती नगरपालिकाले ९८ लाख, खैरहनी नगरपालिकाले दुइ करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै चितवनमा रहेर बागमती प्रदेश हेर्दै आएका कृषिका कार्यालयहरुको बजेट पनि न्यून छ । उनीहरुको बजेट स्थानीय तहले कृषिमा ल्याएका कार्यक्रमभन्दा कम देखिएको छ । भण्डारामा रहेको मौरीपालन विकास कार्यक्रममा दुई करोड १५ लाख ६८ हजार र किम्बु नर्सरी विकास केन्द्रको बजेट एक करोड ८३ लाख रुपैयाँ छ ।
सार्वजनिकीकरण कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले स्थानीय तहरुले कृषि प्रसारको काममा बढी ध्यान दिनुपर्ने सुझाव दिए । ‘अझै कृषिका कार्यक्रम वास्तविक किसानसंग पूगेका छैनन्,’उनले भने, ‘उनीहरुको जिविकोपार्जन हुने गरि कार्यक्रम लागू गर्नुपर्छ ।’ योजना तर्जुमा माथीबाट भन्दा स्थानीय तहबाट हुनुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले आएको बजेटलाई पारदर्शी रुपमा कार्यान्वयन गर्न सुझाव भएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस