हात्ती नियन्त्रणका लागि सबैभन्दा उत्तम उपाय मानिसले द्वन्द्वै नगर्नु हो । अर्थात्, हात्ती आवतजावत गर्ने मार्गमा व्यवधान नगर्नु र उसलाई दखल नपुर्याउनु । त्यसका लागि हात्ती मार्गमा रहेका बस्तीहरूको स्थानान्तरण उत्तम विकल्प हो ।
त्यसबाहेक हामीलाई हात्ती बसाइँसराइको मार्ग, समय र आहाराका बारेमा पनि ज्ञान हुनुपर्छ । हात्ती हिँड्ने याममा नपाक्ने र हात्तीले नरुचाउने खेती पहिचान गर्नुपर्छ । हात्तीहरूले नरुचाउने चिया, हलेदो, अदुवा, सर्स्युं, बदाम (पिनट्स), खुर्सानी र सुर्ती खेती लगाउन सकिन्छ ।
खुर्सानी र सुर्तीबाट हात्तीहरू टाढै बस्छन् । हात्तीको गोबरको गुइँठा बनाई खुर्सानी मोलेर हात्ती आउने समयमा बालिदिने हो भने त्यो धूवाँ टाढाटाढा फैलिएर ती तर्किन सक्छन् । गुइँठामा सुर्ती मोलेर बाल्ने, आउने बाटामा राखिदिने गरेर हात्तीहरूलाई तर्काउन सकिन्छ ।
भारत र चीनमा हात्तीहरूले राति घर फोरेर रक्सी खाएका घटनाहरूबाट ती हिँड्ने बाटामा रक्सी बनाउने र भण्डार गर्ने गर्नु हुन्न भन्ने पाठ सिक्न सकिन्छ ।
हात्तीहरू सिंह, बाघ, मौरी, भालुसित डराउँछन् । त्यसैले ती जनावरहरूका आवाज रेकर्ड गरेर सेन्सर वा कम्पनको सहायताले हात्ती मार्गमा सुनाइदिने गर्दा पनि फाइदा हुन सक्छ ।
वैज्ञानिकहरूले मौरीबाट हात्ती लखेट्ने गज्जबको जुक्तिसमेत निकालेका छन् । हात्ती आउने बाटामा खेतीभन्दा करिब १० मिटर परै मसिना डोरीहरूमा मौरीका घारहरू राखिदिने । हात्ती खेतीमा नपुग्दै त्यो तार वा डोरीमा ठोक्किएर डोरी हल्लिन थाल्छ ।
डोरी मौरीको घारमा ठोक्किन थालेपछि मौरीहरूलाई दखल पर्छ र मौरीहरू रिसले हात्तीमाथि खनिन्छन् । मौरीहरूले कलिलो छालामा टोक्छन् र खील त्यहीँ छोड्छन् । गढेको खीलले हात्तीहरूलाई निकै पछिसम्म पीडा दिइरहन्छ । त्यसको दुखाइले हात्तीलाई ज्वरोसमेत आउन सक्छ । त्यो देख्नासाथ हात्तीहरू डरले थर्कमान हुँदै मसिनो स्वर निकालेर भाग्न थाल्छन् । मौरीको आवाज सुन्दा पनि वैज्ञानिकहरूले हात्ती भागेको पत्ता लगाएका छन् ।
अक्सफोर्ड युनिभर्सिटीको प्राणीशास्त्र विभागका अनुसन्धान सहयोगी र सेभ द एलिफेन्ट्सका लागि मानव–हात्ती सहअस्तित्व कार्यक्रम प्रमुख डा. लुसी किङको नेतृत्वमा श्रीलंकाको उडावलावे राष्ट्रिय निकुन्जमा गरिएको अध्ययनले एसियाली हात्तीहरूले मौरीको भुनभुनाइलाई अलार्मका रूपमा प्रतिक्रिया दिएको देखाएको छ ।
मौरीको आवाज आएपछि तिनीहरू धेरै टाढा गए र डरले कराए । मौरीको घारले हात्तीलाई पूर्ण रूपमा रोक्न नसके पनि केही कम भने गर्छ । यस प्रयोजनका लागि मौरीपालन गरे मह र मैन उत्पादनबाट दिगो आम्दानीसमेत हुन सक्छ । मौरीबाट हात्ती लखेट्ने र मह बेचेर आम्दानी पनि गर्ने परियोजना हाल भारतका कोडागु र दक्षिण कर्नाटकमा बेलायती केभिक संस्थाले केही वर्षदेखि सञ्चालन गरिरहेको छ ।
भारतमा डल्ले, अकबरे खुर्सानीको बम बनाएर अश्रु ग्यासको सट्टा प्रयोग गर्न थालिएको केही वर्ष भयो । खुर्सानीको धूलोलाई अश्रुग्यासका रूपमा हानेर पनि हात्ती भगाउन सकिन्छ भनी अहिले अनुसन्धान भैरहेको छ । यो हाम्रा लागि पनि उपयोगि हुन सक्छ ।
खुर्सानीको धूलोलाई तेलमा चोबेर डोरीमा घस्ने र खेतवरिपरि टाँग्ने गरे पनि त्यसको गन्धले अफ्रिकामा हात्तीहरू भाग्ने गरेका छन् । त्यस्तै, हात्तीहरू आहारा खोज्न आउने बेला फ्ल्यास लाइटहरूको प्रयोग गर्न सकिन्छ ।
हात्तीहरूले रूखका बोक्रामा अरू जीवको पिसाब, गन्ध सुँघ्ने गर्छन्, वरिपरि कस्तो जीव छ भनी थाहा पाउन । कुनै हात्तीकै बास्ना आए पनि ती सकभर तर्किन्छन् । त्यसैले चिडियाखानाका हात्ती वा बाघको पिसाब हात्ती मार्गमा छर्कने गरे यो समस्याबाट मुक्ति पाउन सकिन्छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस