दार्चुला, सदरमुकाम खलंगाबाट राष्ट्रव्यापी चुनावी अभियानको उद्घाटन गर्दै १८ कात्तिकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘भारतले अतिक्रमण गरेको भूगोल समेटेर मैले नै चुच्चे नक्सा जारी गरेको हो । अब जमिन फिर्ता ल्याउन एमालेकै सरकार चाहिएको छ ।’
त्यसो त भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा रहेकै जिल्लाबाट चुनावी अभियान थाल्नुबाटै उनले चुच्चे नक्सालाई आफ्नो उपलब्धिका रूपमा जोडतोडले उठाउने स्पष्ट भएको थियो ।
त्यसको पाँचौँ दिन दार्चुला नै पुगेर सत्तागठबन्धनका दुई शीर्ष नेता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले ओलीका अभिव्यक्तिको जवाफ फर्काए । दार्चुलाबाट ओलीको भनाइ थियो, ‘राष्ट्रियताको पक्षमा एमालेले नेपालको एक इन्च पनि जमिन कसैलाई मिच्न दिनेवाला छैन । मिचिएको जमिन पनि फिर्ता ल्याउँछौँ ।’ यसलाई पुष्टि गर्न उनले चुच्चे नक्सा आफूले जारी गरेको तथा कांग्रेस र माओवादी भारतसँग लम्पसार पर्ने गरेको जिकिर गरेका थिए । तर, दार्चुलाको गोकुलेश्वरमा बुधबार लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी सभा गर्दै देउवा र प्रचण्डले ओलीका दाबीको खण्डन गरे । ‘चुच्चे नक्सा ओली एक्लैले जारी गरेको होइन, सबैले मिलेर जारी गरिएको हो । प्रतिनिधिसभामा एक मतले पारित भएको हो ।
यो विषय राष्ट्रिय सहमति बनेर ल्याइएको हो । मैले एक्लै ल्याएँ भन्नु केपी ओलीजीको चुनावी फन्डा हो । ओलीले झुट बोले,’ देउवाले भने । उनले ओलीले जस्तो भाषणबाजी गरेर भूमि फिर्ता नहुने भन्दै भारतसँग संवाद गर्नुपर्ने बताए । ‘ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे भ्रम फैलाइरहेका छन् । दार्चुलामा आएर भूमि फिर्ता ल्याउँछौँ भनेर मात्रै हुँदैन । यसका लागि भारतमा गएर संवाद गर्नुपर्छ,’ प्रधानमन्त्रीसमेत रहेका देउवाको भनाइ थियो । देउवाभन्दा अघि बोलेका माओवादी अध्यक्ष प्रचण्डले पनि चुच्चे नक्सा ओलीको नभई सबैको योगदानबाट आएको दाबी गरेका थिए । तत्कालीन नेकपाको आफू अध्यक्ष रहेका वेला पार्टीले नै ओलीलाई नीति तथा कार्यक्रममा थप्न लगाएको दाबी प्रचण्डले गर्दै आएका छन् । २४ मिनेट सभालाई सम्बोधन गरेका प्रचण्डले चुनावका वेला मात्र ओली राष्ट्रवादीजस्तो देखिने र चुनावपछि भारतसँग लम्पसार पर्ने गरेको आरोपसमेत लगाए ।
‘चुच्चे नक्सा जारी गर्ने वेला म नेकपाको अध्यक्ष थिएँ । यो विषय सबैको सहकार्य र सहमतिमा आएको हो,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘नक्सा जारी गरेको दाबी गर्ने ओलीले किन भारतसँग थप वार्ता गर्न सकेनन् ?’बुधबारै बैतडीको पाटनमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले पश्चिम सेती र पञ्चेश्वर बहुद्देश्यीय आयोजना निष्कर्षमा पुर्याइने बताए । ‘पश्चिम सेतीले सुदूरपश्चिमको सम्पूर्ण कायापलट गर्छ, त्यसको आम्दानी सुदूपश्चिमले पाउँछ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यस्तै पञ्चेश्वर आयोजना छ । भारतीय प्रधानमन्त्री त्यसको पक्षमा हुनुहुन्छ, यसले त सुदूरपश्चिम मात्रै होइन देशकै कायापलट हुन्छ ।’
देउवाले मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु झुलाघाटमा महाकालीमाथि पक्की पुल बनाउने तयारी भइरहेको बताए । दार्चुला र बैतडीमा भएका दुवै सभामा माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धन १२ बुँदे समझदारीमा हस्ताक्षर गरेदेखि नै भएको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले वर्तमान गठबन्धन राष्ट्रियताको रक्षा, देशको विकास र समृद्धिका लागि भएको दाबी गर्दै ‘यो गठबन्धन कम्तीमा आगामी पाँच वर्ष चल्ने र गठबन्धनले जिते मुलुकले स्थायित्व पाउने दाबी गरे ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस