मेघौली । भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित राधाकृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको १० घण्टापछि नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।
चितवन राष्ट्रिय निकुञ्जको टोलीले भरतपुर-२७ मेघौली नजिककै राधाकृष्ण सामुदायिक वनभित्र बाघ भेटाएको हो। टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी थिए।
दस वर्षको बयस्क भाले नरभक्षी बाघलाई साँझ साढे ६ बजे डार्ट गरी नियन्त्रणमा लिइएको सो बाघलाई कसरा लगिने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । योसँगै निकुन्जको इन्क्लोजरमा चारवटा नरभक्षी बाघ हुने छन् । उनले भने ‘यसअघि बेलशहर मध्यवर्ती सामुदायिक वन, बर्दिया राष्ट्रिय निकुञ्ज, राप्ती नगरपालिका चितवन र यस बाघ निकुञ्जको नियन्त्रणमा रहने छन् ।
बाघ नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी हात्ती चढेर गएका थिए । झन्डै तीन घन्टाको प्रयासमा बाघ नियन्त्रणमा आएको हो ।
बिहीबार बिहान बाघले भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन्। साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो।
निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए।
प्रहरीले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका थिए। उनीहरूले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछिमात्रै शव लैजान दिन भन्दै विरोध गरेका थिए।
बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि युवतीको शव उठाएर पोष्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको थियो।
गत जेठको २४ गते चितवनकै घैलाघारी भन्ने ठाउँमा एक जना महिलालाई बाघले आक्रमण गरेको थियो। आक्रमणबाट ती महिलाको मृत्यु भएको थियो।
त्यही बाघले यहाँ आएर आक्रमण गरेको निकुञ्जले जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस