नेपाल राष्ट्र बैंकले आज (सोमबार) देखि दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष दशैं सुरु हुन केही समय अगाडिदेखि नै नयाँ नोट वितरण गर्ने भएसँगै आजदेखि सर्वसाधरणले नयाँ नोट साट्न पाउने भएका हुन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले धेरै भिडभाड नहोस् भनेर यस वर्ष चाडैदेखि नयाँ नोट वितरण गर्न लागिएको बताए । उनले भने, ‘कोरोना महामारी केही कम भए पनि जोखिम कायमै छ । जसले गर्दा भिडभाड नहोस् भनेर यस वर्ष चाडैदेखि नयाँ नोट वितरण गर्न लागिएको हो ।’
प्रवक्ता ढकालले आजबाट नयाँ नोट वितरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई माग अनुसारको नयाँ नोट पठाइसकिएको पनि जानकारी दिए । ‘यस वर्षको दशैँका लागि नयाँ नोट साट्न भिडभाड नहोस् भनेर आजदेखि नयाँ नोट वितरण गर्न लागेका छौँ । बैंक वित्तीय संस्थालाई पनि आवश्यकता अनुसार माग भएजतिको नयाँ नोट पठाएका छौँ ।’ उनले भने, ‘सम्भवतः सबै बैंक वित्तीय संस्थाले आजैबाट नोट वितरण नगर्न सक्छन् । तर, प्रत्येक वित्तीय संस्थालाई १/२ ठाउँबाट भए पनि आजदेखि नयाँ नोट वितरण गर्नु भनेका छौँ ।’
उनका अनुसार राष्ट्र बैंकले बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरूबाट नयाँ नोट वितरण हुनेछ । साथै ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । हरेक वर्ष दसैँमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोना महामारीका कारण नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना सङ्क्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।
राष्ट्र बैंकका मुद्रा व्यवस्था विभागका प्रमुख तथा कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकका सबै कार्यालयबाट नयाँ नोट वितरण गरिने बताए । उनले भने, ‘आज सोमबारबाट राष्ट्र बैंकको केन्द्रीय कार्यालयदेखि सबै प्रदेशका कार्यालयहरूबाट नयाँ वितरण हुन्छन् । अन्य निजी बैंक तथा वित्तीय संस्थाले कहिलेबाट बाँड्छन् त्यो यकिन भएको छैन ।’
उनका अनुसार राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म सटही सुविधा दिने भएको हो । ५, १०, २०, ५० र १०० का १/१ प्रति बन्डलसम्म सटही हुने गरी यो सुविधा दिने भएको हो । यस वर्ष करिब १० देखि १२ अर्ब रुपैयाँका साना दरका नोट सटही हुने अनुमान राष्ट्र बैंकको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस