चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन ।
चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले बताएअनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । मृत्युको कारण स्पष्ट नभएको अवस्थामा भिसेरा जाँच गर्ने गरिन्छ । यसबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए, त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् ।
आइतबार पूर्वी चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा भण्डारीको शव भेटिए नजिकै विषको बट्टा पनि बरामद भएको थियो । त्यही खाएर भण्डारीले आत्महत्या गरेको हुनसक्ने आशंका पनि छ । ‘विष खाएको भए, त्यो भिसेरा परीक्षणबाट पुष्टि हुन्छ’ प्रहरी स्रोतले भन्यो, ‘पोष्टमार्टमबाट उनलाई अन्य चोटपटक चाहिं नभएको देखियो ।’
प्रहरी स्रोतका अनुसार भण्डारीको योनीको जाँच गर्दा जबरजस्ती करणीको कुनै संकेत देखिएन । शव भेटिनु नौ दिनअघि परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
तर अपहरणको कुनै सकेत नदेखिंदा प्रहरीले भण्डारीको सम्बन्धको विषयमा विश्लेषण गरेर अनुसन्धान गरिरहेको थियो । त्यहीबीच उनको शव भेटिएपछि घटना रहस्यमय बनेको छ ।
पूर्वी चितवनमा भण्डारीको गृह नगरका स्थानीयहरुले टायर बालेर प्रदर्शन गरेका छन्। भण्डारीको ‘विष सेवनबाट मृत्यु भएको’ भन्ने पोष्टमार्टम रिपोर्ट आएको भनि हल्ला चलेपछि स्थानीयले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शन रोक्न प्रहरीले सयभन्दा बढी अश्रु ग्यास प्रहार गरेको छ। स्थानीय र प्रहरीबीच झडप हुँदा दुवै तर्फका तीन(तीन जना घाइते भएका छन् । प्रदर्शन रोक्न जनपथ र शसस्त्र गरी ५ सय बढी प्रहरी परिचालन गरिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस