साउन , सिड्नी। कोरोना महामारीका कारण अस्ट्रेलियाको भिसा लागेर पनि आफ्नै देशमा अड्किन बाध्य अन्तर्राष्ट्रिय विद्यार्थीहरू आगामी सेप्टेम्बर महिनादेखि अस्ट्रेलिया आउन पाउने भएका छन्।
अस्ट्रेलियाका संघीय वाणिज्यमन्त्री सिमोन बरमिङघमले आइतबार, १६ अगष्टका दिन बोल्दै महामारीका बीच विद्यार्थीलाई सुरक्षित तरिकाले ल्याउने सम्भाव्यता हेर्न एक ‘पाइलट कार्यक्रम’ अन्तरगत करिब तीन सय विद्यार्थीहरूलाई आगामी सेप्टेम्बर महिनामा एडिलेड ल्याइने बताए।
सो कार्यक्रमअन्तरगत दक्षिणपूर्व एसियाका विद्यार्थीहरू सिंगापुर हुँदै अस्ट्रेलिया आउने र अन्य नागरिकसरह अनिवार्य रूपपमा क्वारेन्टिनमा बस्नेछन् भने क्वारेन्टिनको खर्च अस्ट्रेलियाका विश्वविद्यालयले व्यहोर्नेछन् । ‘पाइलट कार्यक्रम’मा चीन, हङकङ र जापानका विद्यार्थीहरू सहभागी हुनेछन्।
‘यो कार्यक्रम सुरक्षाका आवश्यकताहरू पूर्ण रूपमा पालना गर्दै सम्पन्न हुनेछ। दक्षिण अस्ट्रेलिया राज्यले विगतमा विश्वभर रहेका अस्ट्रेलियन नागरिकहरूलाई फिर्ता गरेर प्रभावकारी रूपमा क्वारेन्टिन गर्दै समुदायमा कोरोना संक्रमण फैलिन नदिएर व्यवस्थापन गरेको प्रमाणित भइसकेको छ।त्यसलै हामीले सावधानी र सतर्कताका साथ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि सोही तरिकाले व्यवस्थापन गर्नेछौं।’, संघीयमन्त्री बरमिङ्घमले भने।
अन्तर्राष्ट्रिय विद्यार्थीबाट अस्ट्रेलियाको अर्थतन्त्रमा वार्षिक ४० अर्ब अस्ट्रेलियन डलर संकलन हुने तथा दुई लाख ५० हजार रोजगारी श्रृृजना हुने गरेको सरकारी तथ्याङ्क छ। अस्ट्रेलियाको सीमा बन्द हुँदा कोरोना भाइरस नियन्त्रणमा सघाउ पुगे पनि यसले चौंथो ठूलो निर्यात क्षेत्रका रूपमा रहेको शिक्षा क्षेत्रमा भने ठूलो चुनौती खडा गरेको छ।
सरकारले गरेको यो निर्णयले नेपालमा अड्किएका विद्यार्थीहरूलाई अहिले नै केही असर नगरे पनि यो कार्यक्रमको सफलता वा असफलताले भविष्यको बाटो निर्धारण गर्ने कुरा मेलबर्नस्थित मेरो कन्सल्टेन्सीका संचालक डा. महेश भण्डारी बताउँछन् ।
उनी भन्छन्, ‘कोरोना महामारीले गर्दा नेपालमा भिसा पाएर अस्ट्रेलिया आउन नपाएर अड्किएका विद्यार्थीहरू केही सयको हाराहारीमा होलान् । यो ‘पाइलट कार्यक्रम’ सफल भएको खण्डमा ती नेपालीहरू अस्ट्रेलिया आउने बाटो त पक्कै खुल्ने नै छ । अहिलेका लागि हामीले ‘पर्ख र हेर’को स्थितिमा बस्नुको कुनै विकल्प मैले देखेको छैन ।’
सुर्खेत घर भई सन् २०१७ मा अध्ययनको शिलशिलामा अस्ट्रेलिया आएर मेलबर्नको ग्लेनरोयमा बस्दै आएका एक नेपाली विद्यार्थीले अहिलेको कोरोना महामारीको अवस्थाले गर्दा नेपाली विद्यार्थीहरूले धेरैपटक सोंचविचार गरेर मात्र निर्णय लिन सुझाव दिन्छन् ।
नाम उल्लेख नगर्ने शर्तमा २२ वर्षीय ती विद्यार्थी भन्छन्, ‘महामारीले गर्दा अस्ट्रेलियाको अवस्था अहिले निकै नाजुक छ । मेरैनजिक बस्ने केही नेपाली विद्यार्थीहरू काम नपाएर सामाजिक संघ, संस्थाले बाँडेको राहतका भरमा गुजारा गरिरहेको पनि मैले प्रत्यक्ष देखेको छु। त्यसैले ऋण खोजेर आएका अनि अस्ट्रेलियामा गएर कमाएर तिरौंला भन्ने विद्यार्थीले महामारीको अवस्थामा अस्ट्रेलियामा गएर काम गरेर शुल्क तिर्छु भन्ने विद्यार्थीहरूले आउनुअघि राम्रोसँग सोंचविचार गर्नुपर्छ । आर्थिक अवस्था राम्रो भएकालाई त त्यति अप्ठ्यारो नपर्न सक्छ।’
कोरोना महामारीको शुरुवाती दिनमा अस्ट्रेलियामा करिब ५ लाख अन्तर्राष्ट्रिय विद्यार्थी रहेको सरकारी तथ्याङ्क छ भने हाल करिब ६५ हजारको हाराहारीमा नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा रहेको अनुमान छ।@देश संचार
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस