![](https://www.hellochitwanonline.com/wp-content/uploads/2025/01/flyer-1-1-scaled.jpg)
भरतपुर, वैशाख । चितवनका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीलाई सवारी साधन चलाउन ‘ड्यूटी रोस्टर’ अनिवार्य गरिएको छ । आफू काम गर्ने संस्थाको कार्यालय प्रमुखले प्रमाणित गरेको कार्यालय संचालन हुने दिन र सो दिन काम गर्ने कर्मचारीको विवरण उल्लेख भएको कार्यतालिका पत्र ड्यूटी रोस्टर साथमा राखेर मात्र घरदेखि अफिससम्म यात्रा गर्न सक्ने निर्णय प्रशासनले गरेको छ ।
प्रशासनले बैंक तथा वित्तीय संस्थाहरु (सहकारी, विमा कम्पनी र तिनका शाखाहरु, मनी ट्रान्सफर) सम्बन्धित संस्थाहरुले बनाएको कार्ययोजना अनुसार संचालन हुने जनाएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरु (सहकारी समेत) ले आफ्ना शाखाहरु संचालन सम्बन्धमा कम्तिमा १ हप्ताको कार्यातालिका बनाई सार्वजनिक गर्नुपर्ने छ । सो कार्यतालिका र शाखा संचालन गर्न आउने कर्मचारीहरुको नाम ठेगाना सहितको विवरण जिल्ला प्रशासन कार्यालय, सम्बन्धित स्थानीय तह र नजिकको प्रहरी कार्यालयमा पठाउनुपर्ने छ । सहकारीको हकमा समबन्धित स्थानीय तह र नजिकको प्रहरी कार्यालयमा मात्र जानकारी दिए पुग्ने जनाइएको छ ।
आफ्नो परिचयपत्र पनिसाथमा बोक्नुपर्नेछ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार बैंक तथा वित्तीय संस्था (बिमा, धितोपत्र, सहकारी)समेतले कोभिड १९ को संक्रमणको जोखिम नहुने गरी सेवा प्रबाहको योजना बनाई जिल्ला प्रशासन कार्यालय र नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुपर्ने छ । त्यसरी सेवा प्रबाह गर्दा अत्यावश्यकीय सेवा मात्र प्रबाह गर्ने गरी योजना बनाउन प्रशासनले भनेको छ । संस्थाका कर्मचारीहरु मध्ये बढीमा एक तिहाई कर्मचारमात्र उपस्थित भई सेवा सञ्चालन गर्नुपर्ने भट्टराईले बताए । उनीहरुले यात्रा गर्दा परिचयपत्रको दुरुपयोग भएको (कार्यालय जाने आउने बाहेक अन्य काममा परिचयपत्र) पाइएमा कारबाही गरिने उनले बताए ।
साथै सेवाग्राहीहरुलाई आफ्नो नजिकमा रहेको बैंक तथा वित्तीय संस्थाबाट सेवा लिन अनुरोध प्रशासनले अनुरोध गरेको छ । सेवाग्राहीले सकेसम्म सवारी साधन प्रयोग नगरी बैंक तथा वित्तीय संस्थाको सेवा लिनुपर्ने भन्दै प्रजिअ भट्टराईले सकेसम्म टोल वा वडा भित्रै रहेको वित्तीय संस्थाबाट सेवा लिनुपर्ने बताए । बैंकहरुले एटिएमबाट जुनसुकै बखत सेवा लिन सकिने गरी आवश्यक व्यवस्था गर्नुपर्ने उनले बताए । सो कार्यका लागि कार्यालय प्रमुखले प्रमाणित गरेको पत्र सहित कार्यालयको सवारी साधन प्रयोग गर्न सकिने उनले बताए ।
सेवा प्रबाह गर्ने सरकारी कार्यालय, बैक, वित्तीय संस्था, विमा कम्पनीहरुले कोभिड १९ को जोखिम नहुने गरी सेवा प्रबाहको व्यवस्थापन गर्ने दायित्व सम्बन्धित सेवा प्रदायकको हुने प्रशासनले उल्लेख गरेको छ । त्यसरी सेवा प्रबाह भए नभएको अनुगमन गर्न जिल्ला तथा स्थानीय तहबाट अनुगमन समिति खटाउने र त्यसरी खटिएको अनुगमन टोलिले कोभिड १९ को संक्रमणको जोखिम हुने गरी सेवा प्रबाह भएको महसुस गरेमा सेवा प्रबाहमा सुधार गर्न वा सेवा बन्द गर्न निर्देशन दिन सक्ने भट्टराईले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस