झण्डै सिंगो विश्व कोरोनाभाइरसको महामारीसँग जुधिरहेको छ । यस्तो बेला विभिन्न माध्यमबाट दिईने स्वास्थ्यसम्बन्धी सुझावहरूले सबैको ध्यान तानेको पनि छ । त्यसमा अनुपयोगीदेखि जोखिमरहित र जोखिमपूर्णसमेत गरि विभिन्न किसिमका चेतावनीहरू रहेका छन्।
मदिरा सेवनले कोरोना संक्रमण हुँदैन भन्ने भनाई निकै सुन्न पाईन्छ ।
तर यसको कुनै वैज्ञानिक प्रमाण छैन। विश्व स्वास्थ्य सङ्गठनले पनि मदिरा सेवन भाइरस रोकथामको उपाय नभएको जनाएको छ । मदिराले झनै घातक स्वास्थ्य समस्या जन्माउने संगठनले चेतावनी दिएको छ। डब्ल्यूएचओ र अन्य स्वास्थ्य निकायका अधिकारीहरूले हात सफा गर्न प्रयोग गरिने स्यानिटाइजर जस्ता झोलमा रहेका रक्सीको मिश्रण प्रयोग गर्न सुझाव दिएका हुन्।
सास रोकेर तपाईँलाई सङ्क्रमण छ कि छैन थाहा पाउन सकिँन्छ भन्ने हल्ला पनि बाक्लै रुपमा सुन्न पाई्न्छ । भारतका लोकप्रिय योगगुरु रामदेवले वयस्क व्यक्तिले स्वस्थ्य रहन पूरै एक मिनेट र ज्येष्ठ नागरिकले ३० सेकेन्ड सास रोक्नुपर्ने बताएका थिए। उनले यदि कसैले त्यसरी सास रोक्न सकेन भने उसलाई भाइरस रहेको सङ्केत गर्छ भनेका थिए। तर यो दाबीको कुनै वैज्ञानिक आधार छैन।
त्यसैगरि उनले नै नाकको प्वालमा तोरीको तेलको केही थोपा हालेर श्वासप्रश्वासको परीक्षण गर्न सुझाएका छन्। रामदेवले तेलले भाइरसलाई श्वासप्रश्वास प्रणालीबाट तल पेटमा पठाउने र त्यहाँको अम्लीय पदार्थले भाइरसलाई नष्ट पारिदिने दावी गरेका थिए । भारतमा लोकप्रिय रामदेवले स्वास्थ्य सम्बन्धि सामाग्री उत्पादन गर्ने भन्दै विशाल व्यापारिक साम्राज्य खडा गरेका छन्। भारत सरकारको आफ्नै तथ्य जाँचले उनको भनाइलाई खारेज गरिदिएको छ।
त्यसैगरि अमेरिकी राष्ट्रपति डोनल्डले अघिल्लो महिना पत्रकार सम्मेलनका क्रममा निःसङ्क्रमण गर्ने वस्तु बिरामीको शरीरमा सुईमार्फत् लगाउन सकिने बताएका थिए। त्यसपछि त्यो कुरा कैयौँ देशमा फैलिएको थियो भने सामाजिक सञ्जालमा पनि यो विषय बारम्बार दोहोर्याइएको छ। डिसइन्फेक्ट्यान्टले सतहमा रहेका भाइरसहरू मात्रै मार्ने गर्छ। यसलाई सेवन गर्नु वा सुईबाट शरीरमा दिँदा ज्यान जाने प्रवल खतरा हुन्छ ।
यसले भाइरसलाई पुर्याउने असरबारे कुनै प्रमाण फेला परेको छैन। राष्ट्रपति ट्रम्पले बिरामीहरूलाई पराबैजनी किरणको प्रकाश दिएर उपचार गर्न सकिने पनि बताएका थिए। सूर्यको प्रत्यक्ष किरण परेको अवस्थामा सतहमा भाइरस लामो समयसम्म बाँच्न नसक्ने केही प्रमाण देखिएका छन्। तर त्यसले मानिसका कोषहरूलाई नष्ट पार्न सक्छ। र, पराबैजनी किरण कोरोनाभाइरस सङ्क्रमणको उपयुक्त उपचार हो भन्ने प्रमाणित पनि भएको छैन। @ बीबीसी नेपाली
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस